सिरहा नगरपालिकाले नगरको सुरक्षा लगायतका क्षेत्रमा परिचालन गर्ने उदेश्यका साथमा नगर प्रहरी भर्ना गर्दैछ । नगर प्रहरी जवानको पदमा २० जनाको माग गरेको छ । जसमा १५ जना पुरुष र ५ जना महिला नगर प्रहरी भर्ना गर्ने प्रकृया अघि वढेको छ । नगर प्रहरी बन्न ७९ जनाले आफ्नो दावेदारी प्रस्तुत गरेको छ । अहिले नगरप्रहरीमा आवेदन दिएकाहरुको छनौट प्रकृया अघि वढेको छ । उनीहरुको अभ्यास भईरहेको छ । सिरहा नगरपालिकाले नगरलाई चाहिने नगरप्रहरी भर्ना प्रकृया अघि वढाउँदै गर्दा र अहिले विभिन्न चरणको छनौट भईरहँदा सवैभन्दा मुख्य कुरा जिम्मेवारी र जवाफदेहितको छ ।
सिरहा नगरपालिका २२ वटा वडामा विभाजित छ । यहाँ सेवाग्राहीको चाप पनि अत्याधिक छ । नगरको सेवा प्रवाहमा नगरप्रहरीको भूमिका कस्तो रहनेछ ? राजधानी काठमाडौं लगायतका स्थानमा नगरप्रहरीले देखाउँदै आएको दादागिरी सिरहामा पनि नक्कल हुन्छ वा हुँदैन ? नगर प्रहरी भर्तिमा आफन्त र आफ्ना दलका कार्यकर्ताको विषय हो वा होईन ? भन्न प्रश्नहरु नागरिक स्तरबाट उठ्न सक्छ । यस कारणले सिरहा नगरपालिकाले जारी राखेको नगर प्रहरी भर्ना अभियानलाई निष्पक्षताका साथ अघि वढाउनु पर्छ । नगर प्रहरीमा भर्ना गरिदिएर सरकारी नोकरी दिए जस्तो नगरी सेवा प्रवाहमा उनीहरुको सक्रिय भूमिकाको खोजी हुनुपर्छ । नगर प्रहरी भर्ना गरी सिरहा नगरपालिकाले अरु पालिकोको जस्तो निर्वाचित जनप्रतिनिधिहरुको हालीमुहाली वा शान सौकत देखाउन उपयोग हुनुभन्दा नगरका नागरिकलाई सेवा प्रवाहमा समन्वय गर्ने गरी उनीहरुलाई प्रशिक्षण पनि दिनुपर्छ ।
कतिपय स्थानमा नगर प्रहरीहरुको काम गर्ने शैलीमाथि प्रश्न उठेको छ । यस कारणले पनि सिरहा नगरपालिकाले सचेत र सजग भएर नगर प्रहरीको भर्ना र उनीहरुको भर्नाको उदेश्यलाई परीपूर्ति गर्नुपर्छ । अहिले जारी भर्ना प्रकृयामार्फत अन्तिम छनौट हुने नगरप्रहरीले पनि नगरपालिका र नगरवासीप्रति जवाफदेही भएर सेवा प्रदान गर्न प्रतिबद्धता व्यक्त गर्नु पर्छ । जसले उनीहरुलाई नियममा बाध्न मिल्ने, अनुशासित हुने र त्यस अनुसार आफ्नो भूमिका निर्वाह गर्न उनीहरुलाई मद्दत मिल्न सक्छ । यस कारणले सिरहा नगरपालिका र छनौट समितिमा रहेको छनौटकर्ताले पनि भोलिको सिरहा नगरपालिकाको नगरप्रहरीको भूमिकालाई ख्यालमा राख्दै अघि वढ्नु पर्छ । त्यसले सिरहा नगरपालिकाको सेवा प्रवाहमा पनि सकारात्मक भूमिका निर्वाह गर्न सकिन्छ । सिरहा नगरपालिकालाई सुहाउँदो व्यवस्थित, नागरिकप्रति जवाफदेही बन्न सक्ने नगरप्रहरीलाई छनौट गरी पारदर्षिता कायम गर्नु पर्छ । सुरक्षा निकायले नगरप्रहरीमा भर्ना हुने आवेदन दिएकाहरुलाई त्यस अनुसारलाई प्रशिक्षित गरी योग्य बनाउनु पर्छ । जसले भोलीका दिनमा नगरप्रहरीको भूमिका नगरमा राम्रो हुनेछ ।