सिरहा जिल्लाको मुख्य व्यापारिक केन्द्रमध्येको एक हो, रामनगर मिर्चैया । सदरमुकाम सिरहा, लहान, मिर्चैया र गोलबजार जिल्लाको मुख्य व्यापारिक केन्द्र रहँदै आएको छ । मिर्चैया युवाहरुले व्यापार व्यवसाय थालेको केन्द्र हो । त्यही भएर मिर्चैयाको नाउँ प्रायः चर्चामा रह्ने गर्छ । रामनगर मिर्चैयाबाट विभिन्न गाउँ विकास समितिहरु मिलाएर मिर्चैया नगरपालिका गठन गरिएको छ । मिर्चैया नगरपालिकाको नेतृत्वमा नेकपा माओवादी केन्द्रले दोस्रो ईनिङ जारी राखेको छ । मिर्चैयाको कटारी चौक हुँदै पहाडी जिल्लाहरु उदयपुरको कटारी, घुर्मी, ओखलढुङा, खोटाङ, सोलु–सल्लेरी जाने लगायतका पहाडी गाउँ वस्तीमा खाद्यन्न लगायतको विभिन्न सामग्री पुर्याउने गरिन्थ्यो । पहिले पहिले मिर्चैयाबाट समान पैदल पनि बोकेर लैजाने गरिन्थ्यो । अहिले समय फेरिएर सवारीसाधान थपिएसँगै सहज भएको छ ।

मिर्चैया बजार विस्तार भएपनि मुख्य राजमार्गको कारणले यहाँको व्यापार व्यवसाय पछिल्लो केही वर्षदेखि थला परे झैं भएको छ । कमला–कञ्जनपुरसम्मको निर्माण कार्य जारी रहेको एसियन हाईवे अन्र्तगतको काम मिर्चैया बजारमा लथालिङ छ । लामो समयदेखि स्थानीयले आन्दोलन गर्दा पनि निर्माण कम्पनी चाईना रेल्वेले समयमा निर्माण पूरा गर्न असफल भएको छ । जसले गर्दा मिर्चैयाको घुर्मीखोलादेखी जिवाखोलासम्मको सडकमध्ये कटारीचौक–थानाचौकमा कालोपत्र निर्माण पूरा हुन सकेको छैन् । स्थानीय व्यवसायी र नागरिक समाजले सडक निर्माणलाई तिव्रता दिई गुणस्तरीय सडक निर्माण गर्न माग गर्दा पनि निर्माण कम्पनीले वेवास्ता गरेको छ । जसले गर्दा यहाँका व्यापार व्यवसायमा असर पुगेको छ भने नागरिकको स्वास्थ्यमा पनि जोखिम थपिएको छ ।

अहिले पनि मिर्चैयाको मुख्य सडकमा निर्माण कम्पनी चाईने रेल्बेले काम गर्न ढिलाई गर्दा सडक धुलाम्मे, हिलाम्मे हुँदा सडकमा पैदल यात्रा गर्ने, मोटरसाईकलवाट यात्रा गर्ने, सिटी रिक्सामा यात्रा गर्नेलाई सवैभन्दा वढी जोखिम थपिएको छ । धुलो धुलाम्मेले गर्दा आँखा र फोक्सोमा संक्रमण हुने घटनाहरु पटकपटक सार्वजनिक भएपनि निर्माण कम्पनी मौनता साधेको छ । निर्माण कम्पनीको वेवास्ताका कारणले स्थानीयवासीको स्वास्थ्यसँगसँगै आवश्यकता अनुसार मिर्चैया बजार पुग्ने जोकोहीलाई पनि समस्या झेल्नु परेको छ । निर्माण क्षेत्रमा काम गर्ने निर्माण कम्पनीले ठूलो बजेटको यो आयोजना भएपनि नागरिकको स्वास्थ्यप्रति खेलांची गरिरहेको छ । निर्माण कम्पनीको मनमौजी प्रवृतिलाई रोक्न, लगाम लगाउन र नागरिकको स्वास्थ्यलाई ध्यानमा दिई निर्माण कार्यलाई तिव्रता दिई पूरा गराउन सरकारले भूमिका खेल्नु पर्छ । यस परियोजनाको अनुगमन गर्ने जिम्मेवारी पाएको निकाय (कन्स्ल्ट्यान्ट)ले पनि आफ्नो जवाफदेहीता देखाउनु जरुरी छ । विश्वका ठूला देशहरुमा पूर्वाधार निर्माण गर्ने क्रममा सुरक्षा (सेफ्टी)मा विशेष ध्यान दिने गरेको छ । चाईना रेल्वेले आफ्नै देश चीनमा निर्माण कार्य गर्दा नागरिकको सुरक्षामा विशेष ध्यान दिदै आएपनि नेपालमा गर्दै आएको खेलांचीलाई रोक्न सरकारले नै जोड दिनुपर्छ । अनि मात्र मिर्चैया बजारमा सडक निर्माण पूरा हुने र नागरिकले राहत पाउन सक्छ । यसका निम्ति मिर्चैयाका नागरिक समाज, व्यवसायीहरुले निरन्तर दबाब दिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!