मधेश प्रदेशका जिल्लाहरु साक्षर घोषणा हुन सकेको छैन् । प्रदेशभरी रहेको १ सय ३६ स्थानीय तहहरुले साक्षर पालिका घोषणा गर्न अभियान थालेपनि अझैं त्यो पूरा हुन सकेको छैन् । मधेश प्रदेश साक्षरता दरमा अन्य प्रदेशहरु भन्दा पुछारमा रहेको छ । ६३ प्रतिशत साक्षरता दर रहेको मधेश प्रदेशमा शिक्षा क्षेत्रमा व्यापक सुधार गर्नु पर्ने देखिन्छ । जसका निम्ति स्थानीय सरकारदेखि प्रदेश र संघ सरकारले पनि सहकार्य गरी अघि बढ्नुपर्छ । आधा करोड भन्दा वढी जनसंख्या रहेको मधेश प्रदेशको शैक्षिक अवस्थामा सुधार ल्याउनु को विकल्प पनि छैन् । झन् सन् २०३० भित्र लिईएको लक्ष्य पनि पूरा हुनु जरुरी छ । त्यसैले तीन तहको सरकारले शिक्षामा रुपान्तरण ल्याउन र प्रदेशलाई साक्षर जिल्ला घोषणा गर्दै नेपाललाई साक्षर घोषणाको रणनीतिमा जोडतोडका साथ काम गर्नुपर्छ ।
यही लक्ष्यमा सिरहा नगरपालिकाले थोरबहुत पाईला अघि सारेको छ । सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादव नेतृत्वको टोलीले सिरहा नगरक्षेत्रको सामुदायिक विद्यालयसँगै संस्थागत विद्यालयमा पनि सुधार ल्याउन पहल गरेको छ । त्यससै सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक सिकाईलाई थप वृद्धि गर्ने अभियानलाई अगाडी बढाएको छ । जसको फलस्वरुप सिरहा नगरपालिका क्षेत्रको विभिन्न विद्यालयमा बालबालिकालाई निःशुल्क रुपमा कोचिङ कक्षा गर्न सक्ने भएका छन् । जसको शुभारम्भ गरिएको छ । नगरक्षेत्रमा रहेको सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक स्तरलाई थप मजबुत बनाउने उदेश्य रहेको देखिन्छ ।
त्यो त केही स्थानीय तहमा शिक्षामा सुधारका कार्यक्रम ल्याउन पहल भएको पनि छ । चन्द्रनगर गाउँपालिका सलार्हीका अध्यक्ष राजकुमार महतो, सिरहाको औरही गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष सुरेन्द्र कुमार यादवले पनि शैक्षिक सुधार ल्याउन विभिन्न कार्यक्रम ल्याउँदै आएको छ । औरही गाउँपालिका वडा नम्बर ४ मा पनि बालबालिकाको सिकाई उपलब्धीमा जोड दिन कोचिङ कक्षाको संचालन गरिएको छ । जुन निकै नै राम्रो काम हो । यस अर्थमा पनि सिरहा नगरपालिकासँगै सिरहाका अन्य स्थानीय तहमा बालबालिकाको शैक्षिक सिकाईलाई बल मिल्ने गरी शैक्षिक गतिविधिमा जोड दिनुपर्छ । सिरहा नगरपालिकाले थालेको शैक्षिक सिकाई उपलब्धी हासिल गर्ने कोचिङ महत्वपूर्ण साबित हुनुपर्छ । त्यसकारणले सिरहा नगरपालिकाले कोचिङको नाउँमा रकम खर्च गरिरहँदा सिकाई उपलब्धी सम्बन्धमा निरन्तर निगरानी र परीक्षण गर्नुपर्छ । जसले नगरपालिकाको यो महत्वपूर्ण उदेश्य पूरा हुनमा सहयोगी सिद्ध हुन सकोस् ।