काठमाडौँ — नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गरेका छन् । महाप्रबन्धक झाले मन्त्रिपरिषद्ले भारतीय केआरसीएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरे पनि मन्त्रालयले सम्झौताबमोजिमको रकम नदिएको गुनासो गरेका हुन् ।

बिहीबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महाप्रबन्धक झाले २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले गरेको निर्णयमा रकम दिनलाई मन्त्रालयले बेवास्ता गरेको बताए । महाप्रबन्धक झाले कम्पनीमा महाप्रबन्धक भएको एक वर्ष पुग्न लाग्दासमेत रेल सञ्चालनका लागि मन्त्रालयले रकम नदिएको बताए । मन्त्रालयले पूर्वमहाप्रबन्धकलाई पैसा दिने तर आफू आएपश्चात पूर्वाग्रह राखेर रकम निकासा नगरेको आरोप लगाए ।

यात्रुहरूको चाप अत्यधिक रहेको तर अर्को रेल खरिद गर्ने कम्पनीसँग पैसा नभएको महाप्रबन्धक झाले बताए । अब एक थान यात्रुवाहक र एक थान सामग्री बोक्ने रेल सञ्चालन गर्नसके रेल्वे कम्पनीलाई नाफामा लगेर देखाउने दाबी गरे । झाले पैसा नभएपछि योजना बनाएर मात्रै रेल नचल्ने बताए । उनले रेल सञ्चालनका लागि अर्थ मन्त्रालयले बजेट नदिँदा कम्पनीका नियमित काममा असर परिरहेको बताए ।

‘रेल्वे सञ्चालनको लागि अन्य समस्या भन्दा पनि बजेट व्यवस्थापन मुख्य कुरा हो । २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । भारतीय केआरसीएल कम्पनीसँग सम्झौता गर्न लाग्ने सम्पूर्ण रकम अर्थ मन्त्रालयले निकासा दिने भन्ने थियो । म महाप्रबन्धक भएर आएको एक वर्ष भएको छ । अर्थ मन्त्रालयबाट हामीले एक रुपैयाँ पनि पाएका छैनौं । अब यो पूर्वाग्रहपूर्ण कुरा हो वा अरु के हो बुझ्न गाह्रो छ । म आएदेखि अर्थ मन्त्रालय धाइरहेको छु । अर्थ मन्त्रालयले निकासा गर्नुपर्छ भनेर मन्त्रिपरिषद्ले निर्णय गरेको छ । म भन्दा पहिलाका प्रबन्धकले सम्झौता गर्नुभएको थियो । मैले गरेको होइन । उहाँले गरेको सम्झौतालाई निरन्तरता दिएँ । सम्झौता भएको र सरकारले निर्णय गरेको रकम म आएसँगै नआउनु त्यो भन्दा अगाडि आइरहेको कुराले संशय छाएको छ । हामीले सरकारसँग थप बजेट मागेका छैनौं । सम्झौता र मन्त्रिपरिषद्ले गरेको पैसा माग गरेका हौं,’ उनले भने ।

महाप्रबन्धक झाले जनकपुर जयनगर रेल सञ्चालनमा आएसँगै जनकपुरमा आन्तरिक पर्यटकमा समेत वृद्धि भएको बताए । उनले भारतबाट सिधै रेलमार्फत जनकपुर आउने जनकपुरबाट हवाई उडानबाट पोखरा,काठमाडौं गर्न सकिने भएकाले भारतीय पर्यटकमा वृद्धि भएको बताए । झाले रेल्वे सञ्चालनले बहुआयामिक क्षेत्रमा प्रभाव पारेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय