दाङ । उल्टो पैदल यात्राबाट मेची-महाकाली हिँडेका दाङका ऋषि परियार ४२ औँ दिनमा दाङ आइपुगेका छन् । ‘स्वास्थ्यका लागि उल्टो पैदल यात्रा’ भन्ने नाराका साथ गत माघ १५ गते झापाको काँकडभिट्टाबाट उल्टो यात्रा सुरू गरेका परियार शुक्रवार बेलुका दाङको धानखोला आइपुगेका हुन् ।
तुलसीपुर उपमहानगरपालिका-३ घर भएका परियारले स्वास्थ्यका लागि हिँड्नुपर्छ भन्ने सन्देश दिन मेचीदेखि महाकालीसम्म उल्टो पैदल यात्रा सुरू गरेका हुन् । उनी शुक्रवार धानखोलामै बास बसेका थिए ।

उनले अब २२ दिनमा महाकाली पुग्ने लक्ष्य रहेको बताए । उनले दुई पटक ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाइसकेका छन् ।
सन् २०२० जनवरी २१ मा जम्पिङ जक्समा उनको नाम छ । उनले एक मिनेटमा १२३ पटक जम्प गरेका थिए । त्यस्तै, इजिप्टका नागरिकले ३० सेकेन्डमा ५४ पटक लाठी घुमाएको रेकर्ड उनले ५७ पटक गरेर तोडेका थिए ।



