भ्रष्टाचार

सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले अख्तियारले मात्रै चाहेर भ्रष्टाचार नियन्त्रण नहुने बताएका छन् । सदरमुकाम सिरहामा शुक्रवार अख्तियार दूरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि सबै चेतनशील र क्रियाशील हुनु जरुरी रहेको बताएका छन् ।

विभिन्न किसिमको भ्रष्टाचारका लागि विभिन्न प्रकारको कारबाही, दण्ड, जरिवानाको कानुनी व्यवस्था भएपनि तीमध्ये सबैभन्दा माथि नैतिक शिक्षा भएकाले नैतिकरुपमा भ्रष्टाचार गर्न नहुने बोध नहुञ्जेलसम्म भ्रष्टाचार नियन्त्रण गर्न कठिनाइ हुने आयुक्त चन्दको भनाई रहेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रम जिसस सभापति रामचन्द्र ठाकुरले संस्कारमै भ्रष्टाचारले जडो गाडिसकेकोले त्यसलाई निराकरण गर्न आफ्नो सन्ततिलाई सानैदेखि नैतिक शिक्षा दिनुपर्ने बताएका छन् ।

मान्छे जन्मेदेखि बाचुन्जेल केही न केही सिकिरहेको भन्दै सभापति ठाकुरले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ कार्यक्रम गरेर सिरहाका जनप्रतिनिधी, कर्मचारी तथा यहाँका जनताहरुको लागि धेरै राम्रो काम गरेकोले बताएका छन् ।

कार्यक्रममा आयोगका सहन्यायाधिवक्ता घनश्याम ओझा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका प्रमुख गोपालकुमार अधिकारीले छुट्टाछुट्टै विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएको कार्यपत्रमा सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले टिप्पणी गरेका थिए ।

कार्यक्रममा सिरहाका १७ वटै स्थानीय तहका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, सुरक्षाकर्मी, राजनीतिकर्मी, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधी, बुद्धीजीवी नागरिक समाज, व्यापारी र सञ्चारकर्मीको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय