काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले दुधको उपभोक्ता मूल्य बढाएको छ । यसअघि दुधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रहेकोमा आजदेखि बढेको मूल्य लागू भएर प्रतिलिटर ८५ हुने भएको छ ।

डिडिसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दुधको मूल्य प्रतिलिटर ८५ निर्धारण गर्ने निर्णय गरेको थियो । बोर्डको निर्णयअनुसार डिडिसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ । काठमाडौँ उपत्यकासहित विराटनगर हेटौँडा र जनकपुरमा प्रतिलिटर ८५, बुटवल भैरहवामा प्रतिलिटर ८१ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर ७९ मूल्य कायम हुनेछ ।

यसअघि काठमाडौँमा ७६, बुटवल भैरहवामा ७२ र नेपालगञ्ज क्षेत्रमा ७० तोकिएको थियो । बढेको नयाँ मूल्यअनुसार ६ रुपैयाँ ५२ पैसा किसानका लागि तथा प्रतिलिटर दुई ४८ पैसा उद्योगीले पाउनेछन् ।

यस्तै पाँच प्रतिशत फ्याट हुने फुलक्रिम (हरियो प्याकेट) को दुधको मूल्य लिटरमा १४ रुपैयाँसम्म बढेको छ । काठमाडौंमा यस्तो दुधको मूल्य प्रतिलिटर ११४ रुपैयाँ कायम भएको छ । विराटनगरमा १०४, हेटौंडा र जनकपुर क्षेत्रमा १०२ र लुम्बिनी, नेपालगञ्ज र धनगढी क्षेत्रमा १०० रुपैयाँ कायम भएको छ।

डिडिसीले बिक्री गर्ने गाईको दुध (पहेँलो प्याकेट) को मूल्य लिटरमा १० देखि १२ रुपैयाँसम्मले बढेको छ । अब यस्तो दुधको मूल्य काठमाडौंमा प्रतिलिटर १०२ रुपैयाँ, विराटनगरमा एक सय रुपैयाँ र हेटौंडा–जनकपुर क्षेत्रमा ९६ रुपैयाँ कायम भएको छ ।

यसअघि गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो ।

त्यसअघि किसानले बेच्ने दुधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । किसानका लागि तथा उपभोक्ताका लागि बढेको दुधको मूल्य आजदेखि लागू हुने डिडिसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय