सिरहा नगरपालिकामा सोमवार भएको कर्मचारी कुटपिट प्रकरणले स्थानीय तहको कार्यप्रणाली र नेतृत्वप्रति गम्भीर प्रश्न उठाएको छ । कर्मचारीको समयपालन र अनुशासन कायम गर्ने प्रयास स्वाभाविक र आवश्यक विषय हो, तर त्यसको कार्यान्वयन प्रक्रिया कस्तो ढंगले गरिन्छ भन्ने कुरा अझै महत्वपूर्ण हुन्छ । अनुशासनको नाममा यदि कुनै प्रकारको दुव्र्यवहार वा कुटपिट भएको हो भने त्यसले संस्थागत मर्यादा मात्र होइन, समग्र प्रशासनिक संस्कृतिमाथि नै आघात पु¥याउँछ । सिरहा नगरपालिकाका मेयर डा. नविन कुमार यादवमाथि कार्यालय सहयोगी रामशरण यादवलाई कुटपिट गरेको आरोप लाग्नुले घटनालाई झन् संवेदनशील बनाएको छ । यस्ता आरोपहरू हल्का रूपमा लिन मिल्दैनन् । घटनाको सत्यतथ्य के हो भन्ने कुरा निष्पक्ष छानबिनबाट मात्र स्पष्ट हुन सक्छ । दोषी जो भए पनि कानुनी दायरामा ल्याइनु आवश्यक छ । यसले मात्र न्यायको अनुभूति गराउँछ र भविष्यमा यस्ता घटना दोहोरिनबाट रोक्न मद्दत पु¥याउँछ ।

त्यससँगै सिरहा नगरपालिकाका कर्मचारीहरूले सुरु गरेको अनिश्चितकालीन आन्दोलनले नगरपालिकाको सेवा प्रवाहमा गम्भीर असर पारेको छ । वडा कार्यालयदेखि स्वास्थ्य संस्थासम्म सेवा बन्द हुँदा यसको प्रत्यक्ष मार आम नागरिकमाथि परेको छ । नागरिकले पाउनुपर्ने आधारभूत सेवा अवरुद्ध हुनु कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । आन्दोलन कर्मचारीहरूको अधिकार हो, तर त्यसको प्रभावबारे पनि जिम्मेवार हुन जरुरी छ । यस परिस्थितिमा समाधानको एक मात्र उपाय भनेको संवाद र सहमति हो । सम्बन्धित पक्षहरूबीच तत्काल वार्ता सुरु गरी समस्या समाधानतर्फ अग्रसर हुनु आवश्यक छ । यस घटनाको छानबिनका लागि स्वतन्त्र र निष्पक्ष समिति गठन गरिनुपर्छ, जसले सत्य तथ्य सार्वजनिक गरी दोषीको पहिचान गरी कानूनी दायरामा ल्याउन मद्दत मिल्न सक्छ ।

स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हो । त्यसैले यहाँ उत्पन्न हुने विवादले सीधै जनजीवनमा असर पार्छ । यसलाई बेवास्ता गर्ने वा लामो समयसम्म लम्ब्याउने छुट कसैलाई छैन । सिरहा नगरपालिकाले आफ्नो सेवा सुचारु गर्न र नागरिकको विश्वास कायम राख्न तत्काल आवश्यक कदम चाल्नुपर्छ । अनुशासन, पारदर्शिता र कानूनी शासनको समुचित सन्तुलन कायम गर्न सके मात्र यस्ता विवादहरू दीर्घकालीन रूपमा समाधान हुन सक्छन् । सिरहा नगरपालिकामा कर्मचारीमाथि कुटपिटको विवादले सबै पक्षलाई जिम्मेवार र संवेदनशील बन्न सन्देश दिएको छ । कुनैपनि प्रकारले कर्मचारी असुरक्षित हुनु हुँदैन् । कर्मचारीले पनि आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नुपर्छ । सिरहा नगरपालिकामा कर्मचारीको मनोपोली पनि लामो समयदेखि रह्दै आएको छ । जसका कारणले नगरपालिकामा अनेक प्रकारका वेतिथिहरु पटकपटक सार्वजनिक हुनेगर्छ । सिरहा नगरपालिकालाई पारदर्षि रुपमा अघि वढाउन पनि सक्रियता देखाउनु पर्छ । सिरहा नगरपालिकाको विभिन्न सूचकहरु कमजोर हुनुमा कर्मचारीतन्त्रको मुख्य हात रहेको छ । वर्षौदेखिको योजनाहरुको भुक्तानी रोक्ने, त्यसको निकास ननिकाल्ने, जनप्रतिनिधिसँग साँठघाँठ गरी आर्थिक रुपमा कमिसन लिनमा उद्दत रह्ने जस्ता घटना पटकपटक सुनिदै आएको छ । यसैले कर्मचारीहरुले पनि आफ्नो जिम्मेवारी पूर्ण रुपमा ईमान्दारीतापूर्वक वहन गर्नुपर्छ । पदीय जिम्मेवारीमा तटस्थ भएर काम गर्नुपर्छ । त्यसमा निर्वाचित जनप्रतिनिधिहरुको पनि उतिकै भूमिका छ । सहजीकरण गरी नगरपालिकालाई सुदृढ र पारदर्षि रुपमा संचालन गर्नुपर्छ । जसले कर्मचारी र जनप्रतिनिधिवीचको द्वन्द नै समाप्त पार्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय