मधेश प्रदेशको राजधानी जनकपुरधाम जोड्न सिरहा–धनुषाको सीमा नदी कमलामा पक्की पुल अनिवार्य छ । प्रदेशको राजधानी मात्र होईन, हुलाकी राजमार्गको सडक सञ्जाललाई पूर्णता दिन पनि कमला नदीमा पक्की पुल आवश्यक छ । पक्की पुल विना हुलाकी राजमार्गको सडक सञ्जालले पूर्णता पाउन सक्दैन् । सटिक, सुरक्षित र हुलाकी राजमार्ग क्षेत्रमा रहेको गाउँ बजारको आर्थिक गतिविधि वढाउन, समाजिक रुपमा परिवर्तन ल्याउन पनि अधूरो पक्की पुलहरुको पूर्णता अनिवार्य शर्त हो । कमला नदीको पूर्वी तटमा रहेको सिरहा नगरपालिकाको बसबिट्टादेखि पश्चिमी तटमा रहेको धनुषाको सघारासम्मको यात्रालाई सुरक्षित र सहज बनाउन पुल बनाउने र पुलमुनिबाट पानी बगाउने गरी बाँध बनाउनु जरुरी छ । त्यसका निम्ति संघीय सरकारको पहिलो र जिम्मेवार भूमिका अनिवार्य छ ।

अर्को महत्वपूर्ण पक्ष भनेको भाँसिएको पुलको छेउ भएर अस्थायी रुपमा आवतजावत गर्न बाँस र प्लाई राखेर बनाईएको पुलवारे व्यापक मन्थन जरुरी छ । अब सिरहा र धनुषातर्फ अलग अलग रुपमा बाँसको पुल बनाउनु पर्ने, कमलामा आवतजावतलाई सहज बनाउन बालुवालाई ताछेर बाटो बनाउनु पर्ने जस्ता काम अनिवार्य छ । सिरहातर्फमा दुई ठाउँमा बाँस र प्लाईको पुल बनाईएको छ । स्थानीयहरुले बनाएको पुलमा केही दिन मोटरसाईकललाई एक सय रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको थियो । त्यसलाई परिमार्जन गर्दै सिरहा नगरपालिकाले दैनिक रुपमा २० रुपैयाँ तिर्नुपर्ने भनेर सूचना बोर्ड नै लगाएको छ । खासमा बाँसको पुल बनाउन कति रुपैयाँ खर्च लाग्यो ? के त्यो खर्च सिरहातर्फको निम्ति सिरहा नगरपालिका र धनुषातर्फको निम्ति कमला नगरपालिकाले व्यवस्थापन गर्न सक्दैन ? के यो दुवै नगरपालिकासँग भएको स्रोतसाधनले नागरिकलाई सहजताको काम गर्न सक्दैन भन्ने विश्वास गर्न सकिदैन् ।

सिरहा नगरपालिका र कमला नगरपालिकाले आफ्नो जवाफदेहिता देखाउनै पर्छ । नागरिकप्रति जवाफदेहि बन्नुपर्छ । कमला नदीमा पक्की पुल निर्माण गर्न सरकारलाई दबाब दिनु पर्छ । यसका निम्ति सप्तरीदेखि महोत्तरीसम्मका हुलाकी राजमार्ग केन्द्रित स्थानीय तहहरुले समन्वय गर्नुपर्छ । सिरहा नगरपालिकाले सिरहातर्फ र कमला नगरपालिकाले पुलको पश्चिमपट्टीको सडकसँगै बाँसको पुल बनाएर आवतजावत सहज बनाउन भूमिका खेल्नुपर्छ । पुलबाट आवतजावत गर्न कुनै शुल्क लिनु पर्दैन् । दुवै नगरपालिकाले नागरिकप्रतिको जवाफदेहि बहन गर्नुपर्छ । नागरिकले सहज रुपमा आउजाउ कसरी गर्न सक्छ भन्ने एउटा सरकार प्रमुखको रुपमा सक्रियता देखाउनु पर्छ । जसले स्थानीय तहहरुप्रति नागरिकको असन्तुष्टि पनि हटछ । नागरिकले स्थानीय सरकारलाई अपनत्व ग्रहण गर्न सक्छ । त्यसैले सिरहा र कमला नगरपालिकाले तत्काल कमला नदीमा सहज रुपमा आउजाउ गर्न जेसिभि परिचालन गरी बाटो बनाउने काम तत्काल सुरु गर्नुपर्छ । अहिले नागरिकले असहजता र कठिनाईको सामना गरी कमला नदी वारपार गर्नुपर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय