सिरहा नगरपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । ९औं नगरसभामार्फत सिरहा नगरपालिकाले करिब डेढ महिना ढिला गरी बजेट ल्याएको हो । १ अर्ब ३ करोड वढीको बजेट ल्याएको सिरहा नगरपालिकाको प्राथमिकता नै मुख्य विषय हो । २०५३ सालमा सिरहा नगरपालिका स्थापना भएको छ । स्थापनाको तीस वर्ष पुग्न लाग्दा सिरहा नगरपालिकाको विकास दिगो बन्न सकेको छैन् । हरेक क्षेत्रमा कनिका छर्केको जस्तै विकास विगतदेखि वर्तमानसम्म भएको छ । २०७४ पछि शक्तिशाली रुपमा स्थानीय सरकार बनेपछि सिरहा नगरपालिकाले बजेटदेखि कानून बनाउने र कानून कार्यान्वयन गर्ने देशका अन्य स्थानीय तह जस्तै भएको छ । संविधानले नै स्थाीय तहलाई बलियो बनाउने उदेश्यले शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा लगायतका विविध क्षेत्रलाई पालिकाभित्र समावेश गरेको छ । त्यही भएर विगतका स्थानीय निकायभन्दा अहिलेको स्थानीय तह निकै शक्तिशाली रहेको छ ।
विगतभन्दा अहिले सिरहा नगरपालिकाले आफ्नो विकासको रफ्तार हरेक क्षेत्रमा वढाउनु पर्छ । फगत भाषण गरेर सिरहा नगरपालिकाको बहुआयामिक विकास सम्भव छैन् । यसका निम्ति सवैभन्दा वढी आवद्यिक योजना, पञ्चवर्षिय योजना र सिरहा नगरपालिकाको मास्टर प्लान नै चाहिन्छ । सिरहा नगरपालिकाको तीन दशकको अवधिमा व्यवस्थित रुपमा मास्टरप्लान नै बन्न सकेको छैन् । जसका कारणले सिरहा नगरक्षेत्रको विकासले सोचे जति अगाडी वढ्न सकेको छैन् । पछिल्लो समय नगरपालिकाले विविध शिर्षकमा गरी अर्बौ रुपैयाँको परिचालन गरिरहेको छ । त्यसका बाबजुद नागरिकले अपेक्षा गरे अनुसारको विकास हुन सकेको छैन् । विकास भनेपछि पूर्वाधार निर्माण मात्र हुँदैन् । नागरिकको जीवनस्तरलाई प्रत्यक्ष छुने गरी हरेक क्षेत्रको विकास हुनुपर्छ ।

चालू आर्थिक वर्षको बजेट १ अर्ब वढी ल्याएको सिरहा नगरपालिकाले शिक्षालाई कुन प्राथमिकतामा राखेको छ । अझैं पनि सिरहा नगरपालिकाका विभिन्न विद्यालयमा बालबालिका भूईमा पठनपाठन गर्नुपर्ने बाध्यता छ । अधूरो भौतिक पूर्वाधारहरुका कारणले बालबालिका जोखिममा छ । चिसो, गर्मी हरेक मौसममा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने संकट छ । त्यसका अलावा स्वास्थ्य क्षेत्रमा त्यसैगरी नै वेतिथि छ । स्वास्थ्य संस्थाहरुमा निःशुल्क वितरण गर्ने औषधी नै पाईदैन् । स्वास्थ्यकर्मीले आफ्नो विश्वास जगाउन नसक्दा समान्य रोगमा पनि नागरिक महँगा अस्पताल पुग्नेपर्ने बाध्यता छ । यो सवैमा निगरानी पनि छैन् । पूर्वाधार विकासका सवालमा पनि धेरै गुनासोहरु पाईन्छ । वडाहरुमा अझैं पनि ढल निकासी समस्या ज्यूकात्यूँ छ । जसले गर्दा घरहरु डुबानमा परेको छ । खेलकुद, सामाजिक विकास, कृषिमा व्यसायिकरण, पशुपालनमा जोड दिन सक्ने गरी कतिपय क्षेत्रलाई दिगो बनाउन सकिएको छैन् । यसैले चालू आर्थिक वर्षको बजेटमा सिरहा नगरपालिकाले यस क्षेत्रलाई समेटको हुनुपर्छ । अहिलेको निर्वाचित जनप्रतिनिधिले चलाउने चौथों बजेट हो । यसपछि एउटा बजेट मात्र प्रस्तुत गर्ने अवसर पाउने भएकोले पनि सिरहा नगरपालिका क्षेत्रको दिगो विकासको हिसाबले मास्टरप्लान निर्माण अनुसार अघि वढाउनु पर्छ ।



