माध्यमिक परीक्षा अर्थात कक्षा १० उत्तिर्ण गरेको परीक्षाफल प्रकाशित भएको छ । देशभरको नजितामध्ये सिरहा जिल्लाको एसईई–२०८१ को नजिता कमजोर रहेको छ । सिरहा जिल्लामा सवैभन्दा वढी चासो राखिएको विद्यालय चन्द्र माध्यमिक विद्यालय सिरहा रहेको छ । देशको पूरानो मध्ये एक यो विद्यालय हो । दरबार हाईस्कूलपछि चन्द्र माध्यमिक रहेको छ । यसरी देशको दोस्रो पूरानो विद्यालयको रुपमा चन्द्र माध्यमिक विद्यालयलाई लिएको छ । यो विद्यालयलाई ऐतिहासिक विद्यालयको रुपमा चर्चा गरिन्छ । चन्द्र माध्यमिकबाट अध्ययन गरेका विद्यार्थीहरु देशको प्रधानन्यायधिशसम्म बन्न पुगेका छन् । यसैले विद्यालयको गरिमा उच्च छ ।

ऐतिहासिक विद्यालय भएपनि विद्यालयमा शिक्षण सिकाई, उपब्लधीलाई लिएर पटकपटक प्रश्न उठ्छ । विद्यालयमा पठनपाठन नभएको गुनासो विद्यार्थीहरुले गर्दै आएका थिए र छन् । त्यस कुराको सम्बोधन गर्न विद्यालय प्रशासन विगतदेखि नै असफल भएको हो । अहिले एसईई–२०८१ को नजिताले चन्द्र माध्यमिक विद्यालयको पठनपाठनमाथि गम्भीर प्रश्न खडा गरेको छ । चन्द्र माध्यमिक विद्यालयमा प्राविधिकधार अन्र्तगत पठनपाठन पनि हुन्छ । अर्कोतिर विद्यालय नमुना विद्यालयको रुपमा पनि छ । यसरी नमुना विद्यालय भएपनि एसईई जस्तो परीक्षाको नजिता किन खस्कियो ? भन्ने गम्भीर सवाल छ । यसको उत्तर खोज्नुपर्छ । विद्यालयका २९० जना बालबालिकाले एसईई–२०८१ मा सहभागी हुँदा ९३ जना मात्र उत्तिर्ण भए । १९७ जना नन् ग्रेड भएका छन् । आखिर अहिलेको समयमा पनि आधाभन्दा वढी विद्यार्थी कसरी नन् ग्रेड हुन पुग्यो । यसको जिम्मेवारी कसले लिने ?

जिल्ला सदरमुकाम सिरहामा भौतिक पूर्वाधारले सम्पन्न विद्यालय चन्द्र माध्यमिकमा पठनपाठनलाई लिएर व्यापक मन्थन गर्नुपर्छ । एसईईको नजिताले चन्द्र माध्यमिकमाथि गम्भीर सवाल उठाएकोले त्यसको जवाफ विद्यालय प्रशासनले दिनुपर्छ । १ सयमा ३२ प्रतिशत विद्यार्थी मात्र उत्तिर्ण भएका छन् । यसले विद्यालयको पठनपाठनको अवस्था कस्तो छ ? कुन कुन विषयमा विद्यार्थीहरु अनुत्तिर्ण वढी भएर र विद्यालयमा त्यस विषयसँग सम्बन्धित शिक्षकको पठनपाठन गराउने शैली र प्रयत्न कस्तो हो ? भन्ने कुराको पनि छानबिन गर्नुपर्छ । देशको विभिन्न स्थानमा सामुदायिक विद्यालयको नजितामा व्यापक सुधार आएपछि शिक्षक–कर्मचारी र विद्यार्थीहरु जुलुस प्रर्दशन गरी खुशी आदानप्रदान गरिरहेको अवस्थामा चन्द्रमाविले कमजोर नतिजाको आडमा कति दिन आफूलाई लज्जाबोध गरिरहन्छ ? यस कारणले चन्द्र माध्यमिक विद्यालयसँग सरोकार राख्ने हरेक पक्षले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ । विद्यालयको नजिता कमजोर आएको विषयमा व्यापक विर्मश गर्नुपर्छ । लज्जाबोधको अवस्थाबाट चन्द्रमाविलाई माथि उकास्नुपर्छ । अनि मात्र देशको दोस्रो ऐतिहासिक विद्यालयको गरिमालाई बचाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय