काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच बुधबार गृह मन्त्रालयमा भेटवार्ता भएको छ ।
भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निकट भविष्यमा हुने भारत भ्रमण, नेपाल-भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षा लगायतका विषयमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

साथै श्रेष्ठले सीमा व्यवस्थापन र सीमापार अपराध नियन्त्रण जस्ता संवेदनशील विषयमा समेत दुई देशबीच खुला छलफल हुनुपर्ने भनाइ राखेका उनको सचिवालयले जनाएको छ । भेटका क्रममा श्रेष्ठले हालै आफूले रुपन्देहीमा ‘बोर्डर आउटपोस्ट’ निरीक्षण गरेको र सो क्रममा आफूले दुई देशका सुरक्षा निकायबीच राम्रो समन्वय र सहकार्य देखेको बताए ।
भेटवार्तामा सीमामा नियमित वारपार गर्ने नागरिकले अपराधी जस्तै व्यवहारको सामना गर्नु नपरोस् भनेर दुबैपक्ष संवेदनशील हुनुपर्ने र त्यसक्रममा नेपालगंज- रुपेडिया, भैरहवा-सुनौली तथा दोधारा-चाँदनीमा ‘इन्टेग्रेटेड चेकपोस्ट’ बनाउने विषयमा समेत छलफल भएको श्रेष्ठले बताए ।
गतवर्ष भारतको नयाँ दिल्लीमा सम्पन्न ‘ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट’को बैठकमा कतिपय सीमा नजिकका स्थानमा विकास निर्माणका सम्बन्धमा रहेको विवादलाई थप छलफल गरेर टुङ्ग्याउने सहमति भएको र त्यसका लागि भारतीय पक्ष तयार रहेको राजदूत श्रीवास्तवले बताए ।



