काठमाडौँ नेकपा माओवादी केन्द्रले स्थानीय चुनावमा घात गर्नेलाई कारबाही गर्ने भएको छ । स्थानीय तह निर्वाचनमा पार्टीभित्र भएका घात, प्रतिघात र असहयोगबारे केन्द्रीय समितिद्वारा गठित छानबिन कार्यदलले निलम्बन, निष्काशन र चेतावनीसम्मको कारबाही सिफारिस गरेको हो ।

सोमबार कार्यदलका अध्यक्ष टंक राईले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएका छन् । उक्त कार्यदलमा मुक्ति प्रधान र खिमलाल देवकोटासमेत थिए ।

प्रतिवेदन बुझ्दै अध्यक्ष दाहालले अनुशासन तोड्नेलाई कारबाही नगरे कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीजस्तो नहुने बताए । कार्यदलको प्रतिवेदनअनुसार पार्टीलाई विधिसम्मत तरिकाले चलाउन सबैलाई उनले आग्रहसमेत गरे । उनले भने, ‘राम्रो गर्नेलाई प्रोत्साहित गर्ने, अराजकतातर्फ जाने, अनुशासन तोड्नेलाई कारबाही नगर्ने हो भने कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीजस्तो रहँदैन । पार्टी निर्माण प्रक्रियालाई व्यवस्थित पार्ने, दोषीलाई कारबाही नगरेसम्म पार्टी निर्माण र समाजवादतर्फ जाने बाटो सम्भव छैन ।’

अध्यक्ष दाहालले कार्यदलले चुनावमा घात गर्ने र अनुशासन तोड्नेलाई ‘निलम्बन, निष्काशन र चेतावनी’को सिफारिस गरिएको जानकारी दिए । कार्यदलले तयार पारेको प्रतिवेदनले माओवादीलाई मात्र नभई अन्य दललाई पनि विधिसम्मत तरिकाले चल्न सन्देश दिने उनले दाबी गरे ।

उनले भने, ‘कार्यदलले बिनापूर्वाग्रह काम गरेको छ । यसले पार्टीलाई अनुशासित बनाउनका लागि मद्दत गर्नेछ । यसले हाम्रो पार्टीलाई मात्र होइन अन्य पार्टीलाई पनि केही न केही सन्देश दिन्छ । देशमा राजनीतिलाई सही ढंगले अगाडि लैजान मद्दत गर्छ ।’

अध्यक्ष दाहालले प्रतिवेदनबारे पदाधिकारीहरूबीचमा छलफल हुने बताए । आवश्यक परे उक्त प्रतिवेदनलाई स्थायी समितिमा पनि छलफल गरिने उनको भनाइ छ । महाधिवेशनको ८ महिनापछि माओवादीले केही दिनअघि मात्र २१ सदस्यीय पदाधिकारीलाई पूर्णता दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय