सिरहा । सिरहामा फुटबल गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित आयोजना हुन लागेको चौथो संस्करणको ‘सहिद होमनारायण गोल्डकप फुटबल प्रतियोगिता–२०८३’ को खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा चात्या सा फुटबल क्लब झापा र गोलबजार युनाइटेड क्लब गोलबजारबीच प्रतिस्पर्धा हुने भएको छ ।
सलहेश युवा क्लब सिरहाको आयोजनामा तथा सिरहा नगरपालिकाको मुख्य सहयोग र सिरहा जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगिता आगामी जेठ ८ गतेदेखि १५ गतेसम्म सिरहा नगरपालिका–३, मखनाहा स्थित शंकर रंगशालामा हुनेछ । उद्घाटन खेल शुक्रबार दिउँसो ३ः३० बजे सञ्चालन हुने आयोजकले जनाएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा सलहेश युवा क्लबका अध्यक्ष राजिव यादवले प्रतियोगितामा आयोजकसहित देशका विभिन्न क्षेत्रका ८ टोलीको सहभागिता रहने जानकारी दिए । उनका अनुसार यस वर्ष केही नयाँ टोलीलाई समेत समावेश गरिएकाले प्रतियोगिता अझ प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको छ ।
सार्वजनिक खेल तालिका अनुसार जेठ ९ गते काठमाडौंको टोली र पथरी–११ एफसी मोरङबीच खेल हुनेछ । त्यसैगरी जेठ १० गते गाईघाट युनाइटेड उदयपुर र गोल्डेन स्टार युथ क्लब भलुवा सुनसरी आमनेसामने हुनेछन् भने जेठ ११ गते आयोजक सलहेश युवा क्लब सिरहा र भारतको माँ कामाख्या स्पोट्र्स क्लब बक्सरबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको सेमिफाइनल खेलहरू जेठ १२ र १३ गते आयोजना गरिनेछ भने फाइनल खेल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
यस वर्ष प्रतियोगिताको पुरस्कार राशिमा समेत उल्लेख्य वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले नगद ३ लाख रुपैयाँसहित रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेतालाई नगद १ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यसैगरी, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ घोषित गरी नगद पुरस्कार र ट्रफी प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट खेलाडीलाई समेत नगदसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार अघिल्ला तीनवटै संस्करण घरेलु टोलीले जितेको इतिहास रहेकाले यस पटक पनि स्थानीय दर्शकमाझ प्रतियोगिताप्रति ठूलो उत्साह देखिएको छ । प्रतियोगितालाई मधेश क्षेत्रमा फुटबल विकास, युवा प्रतिभा पहिचान तथा खेल पर्यटन प्रवद्र्धनको महत्वपूर्ण माध्यमका रूपमा हेरिएको छ ।




