सिरहा । सिरहाको औरही गाउँपालिकामा डा सिके राउत नेतृत्वको जनमत पार्टीको पकड बलियो बन्दै गएको छ । जनमत पार्टीको पहिलो टारगेट भनेको जनता समाजवादी पार्टी (जसपा) रहेको छ । त्यही भएर जनमत पार्टीको पडक भएको औरही गाउँपालिकामा जसपा अध्यक्ष उपेन्द्र यादव पुगेका थिए ।
वृहत्त पार्टी प्रवेश कार्यक्रम नाउँ दिएर अध्यक्ष यादवलाई जसपाका नेताहरुले औरही गाउँपालिका–३ करहर्वाको सभाका प्रमुख अतिथि बनाएका थिए । जनमत पार्टीलाई काउन्टर दिन नै सभा आयोजना गरिएको दृश्यहरुले प्रष्ट पारेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको सुरक्षामा हातमा बासको फाटा सहितका युवा दस्ता परिचालन गरिएको थियो । जनमत पार्टीले अवरोध गर्न सक्ने भन्दै जनता समाजवादीका वृहत्त पार्टी प्रवेश कार्यक्रमका आयोजक पक्षले सयौंको संख्यामा युवा दस्तालाई बाँसको फाटा सहित सुरक्षामा खटाएका थिए ।


मधेसमा शक्तिशालि पार्टी चाहिन्छ : अध्यक्ष यादव
वृहत्त पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेसमा शक्तिशाली पार्टीको आवश्यकता भएको बताएका छन् । चुनाव लक्षित गरी आयोजना गरिएको वृहत पार्टी प्रवेश कार्यक्रममा मधेसी, महिला दलित तथा पिछडावर्गको अधिकारको लागि आफ्नै विचार र नेतृत्व सहितको शक्तिशाली पार्टीको जरुरी भएको अध्यक्ष यादवले बताएका छन् ।

आफ्नै पार्टीभित्रको विवादलाई लक्षित गर्दै अव मधेसीले रोपेको फलको बोट मधेसीले खान जानी सकेको भन्दै उनले भने,‘जुन बोट मधेसीले रोप्छ, खाद्य, मल, पानी लाउँछ, हुर्काउँछ बढाउँछ, फलाउँछ भने अव त्यस बोेटको फल पनि मधेसीले नै खान्छ ।’
‘रोप्ने, हुर्काउने र फलाउने मधेसीले र फल खाने टोपीको दिन गईसक्यो,’ अध्यक्ष यादवले भने,‘अव मधेसीले फल खान पनि जानेको छ । अव टोपीको कमाई टोपीले खाउन, धोतीको कमाई धोतीले नै खान्छ ।’

अध्यक्ष यादवले अरु दलमा रहेका मधेसी नेताहरुको हविगत सवैले देखेको भन्दै आफ्नै जसपामा समाहित हुन आग्रह गरेका छन् । ‘नेपाली काँग्रेमा लागेर कति नेता बुढा भए,’ उनले भने,‘कम्यूनिष्टमा भएका मधेसीहरु धेरैमा चाटुकारमात्र भएको छ । आफ्नै शक्तिको अभावमा कुनै अस्तित्व छैन् ।’
अहिलेको निर्वाचन प्रणाली एकदमै महँगो भएको भन्दै अध्यक्ष यादवले भने,‘यो प्रणाली हाम्रो जस्तो गरिव देशमा उपयुक्त छैन् । ‘यो प्रणालीलाई बदलेर सामानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ ।’
यस्तो खालको निर्वाचन प्रणालीले गरिव वर्गले चुनावमा भाग लिन नसक्ने भन्दै उनले जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन् ।

नेपालमा जन्मेका आमा र बुबाको जन्मसिद्ध नागरिता हुने, तर उनका सन्तानले नागरिता पाउनु एक खालको अवरोध भएकोले तुरुन्तै नागरिता विधेयक संशोधन गरी नागरिकता विहिन त्यस्ता व्यक्तिलाई नागरिता दिनु पर्ने बताएका छन् ।
वृहत्त पार्टी कार्यक्रममा विभिन्न पार्टीका पाँच सय बढी नेता कार्यकर्ता जसपा प्रवेश गरेको छन् । उक्त कार्यक्रममा जसपाका केन्द्रीय देखि जिल्ला तहका नेताहरुको सहभागिता रहेको थियो ।



