सिरहा । सिरहाको एक विद्यालयलाई नेपाली सेना तथा सैनिक श्रीमती संघले फर्निचर तथा स्टेसनरी सामग्री प्रदान गरेको छ । विष्णुपुर गाउँपालिका– ४ थल्हा कटहामा रहेको आधारभूत माध्यमिक विद्यालयलाई संघले फर्निचर तथा विभिन्न शैक्षिक सामग्री प्रदान गरेको हो ।
सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले विद्यालयका प्रधानाध्यापक हरिनारायण यादवलाई दुई सय थान बेन्च–डेस्क र स्टेसनरी सामग्री हस्तान्तरण गरेकी छिन् । दुईवटा दराज, र्याक, ह्वाइटबोर्ड, सूचना बोर्डलगायतका सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको संघकी अध्यक्ष शर्माले जानकारी दिइन् ।

सामाजिक क्षेत्रमा सक्रिय रहेको यस संस्थाले विपतमा पनि सहयोग गर्दै आएको संघकी सचिव सोभना पौड्यालले बताइन् । विद्यार्थी संख्या धेरै भएको र डेस्क–बेन्च अभाव हुँदा अध्ययनमा अप्ठ्यारो भएपछि संघले सहयोग गरेको उनले बताइन् । उक्त विद्यालयमा बाल कक्षादेखि १० कक्षासम्म सात सय ५० विद्यार्थी अध्ययनरत छन् । यस्तै, संघले २० जना विपन्न मुसहरलाई कम्बल पनि वितरण गरेको छ ।



