सिरहा । नेपाली काँग्रेस सिरहा जिल्लाको १४औं अधिवेशन अन्र्तगत दुई जना निर्विरोध निर्वाचित भएका छन् । सभापतिका उम्मेदवार रामसुन्दर चौधरीका समूहबाट अल्पसंख्यक सदस्यमा सिरहा नगरपालिका ७ का संजय कुमार साह निर्विरोध निर्वाचित भएका छन् । यस्तै प्रदेश सभा प्रतिनिधि अपाङ कोटामा चौधरीकै समूहबाट रोशन कुमार यादव निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत सन्जीव कुमार लामाले जनाएका छन् ।
यता सोमवार हुने निर्वाचनको लागि दुवै समूहबाट मनोनयन दर्ता गरिएको छ । सभापतिमा रामचन्द्र यादव र रामसुन्दर चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
सिरहाको गोलबजारको उद्योग वाणिज्य संघमा कायम गरिएको निर्वाचन कार्यालयमा सभापतिमा यादवले शनिवार नै आफ्नो उम्मेदवारी दर्ता गराएका थिए भने चौधरीले आईतवार उम्मेदवारी दिर्ता गराएका थिए ।

यादवको समूहबाट उपसभापतिमा सुनिल महतो, जागेश्वर मण्डल, सचिवमा शैलेन्द्र यादव, तारकेश्वर यादव, सहसचिवमा रामबाबु यादव र किरण विसी र चौधरीको समूहबाट उपसभापतिमा गंगा प्रसाद यादव, नागेश्वर भुडेर यादव, सचिवमा अरुण कुमार सिंह, रामचन्द्र यादव, सहसचिवमा पनालाल मण्डल र धनिकलाल महतोले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत लामाले बताएका छन् ।
सभापति १, उपसभापति २, सचिव २, सहसचिव २ गरी ७९ जना चयन गर्न मतदान हुने भएको छ । नेतृत्व चयन गर्न मतदानमा सिरहा जिल्लाका २ हजार ६६२ जना नेपाली काँग्रेसका मतदाताले मत खसाल्नेछन् ।



