विराटनगर । बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका विराटनगरको सप्तकोसी डेभलपमेन्ट बैंकका दुई कर्मचारी धरौटीमा छुटेका छन् । यही मुद्दामा बैंकका सीईओ नवीन सुवेदीसहित तीनजनालाई पुर्पक्षका लागि मोरङ कारागार चलान गरिएको छ ।

उच्च अदालत विराटनगरको आदेशानुसार बैंकको सेवा विभागका वरिष्ठ सहायक होमप्रसाद पौडेल दुई लाख र बैंकका अपरेसन प्रमुख अमित थापा जनही दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । यो प्रकरणमा सातजना फरार सूचीमा छन् ।

उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबावु श्रेष्ठको इजालसले बैंकका तत्कालीन सीईओ नवीन सुवेदीसहित लेखा प्रमुख देवीप्रसाद भण्डारी र जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

बैंकिङ कसुर मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सीईओ सुवेदीसहित पाँच र सातजनालाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । फरार सात प्रतिवादीलाई अदालतले ३५ दिनको म्याद जारी गरेको सूचना अधिकारी सुवेदीले जानकारी दिएका छन् ।

फरार हुनेमा बैंकका कार्यालय सहयोगी चूडाबहादुर निरौला, बैंकका कार्यालय सहायक पदबाट राजीनामा दिएका निश्चल सुवेदी, बैंकको कनिष्ठ सहायक पदबाट राजीनामा दिएकी समीक्षा अधिकारी, खातावाला बबिता बस्नेत, वरिष्ठ सहायक शुभेच्छा निरौला, कमल दाहाल र मनोज भट्टराई छन् ।

बैंकका नौ कर्मचारी र तीन खातावाला गरी १२ जनाविरुद्ध उच्च अदालत विराटनगरमा यही फागुन १० गते मुद्दा दायर भएको थियो ।

बैंकको ट्राफिचोकस्थित कार्यालयबाट रेमिटेन्सको १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको पुष्टि भएप्छि सीईओ सुवेदीसहितका कर्मचारी पक्राउ परेका थिए ।

धनकुटा प्रधान कार्यालय भएको सप्तकोसी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ । त्यही कर्पोरेट कार्यालयबाट रेमिट्यान्सको १५ करोड ७० लाख हिनामिना भएको थियो ।

बैंकको रेमिट शाखाबाट भएको यो हिनामिनामा बबिता सुवेदीको नाममा मात्रै १४ करोडभन्दा बढी रकम ‘ट्रान्सफर’ भएको भन्दै नेपाल राष्ट्र बैंकमा मुद्दा परेपछि अनुसन्धान सुुरु भएको थियो । उनी सीईओ सुवेदीकी नातेदार हुन् ।

सन् २०१६ देखि २०२१ अगस्ट २ मा बबिताको नाममा रहेको प्राइम बैंकको खाता नम्बर ९९९००००१५००१५ बाट १४ करोड गैरकानुनी ढंगबाट निकालिएको खुल्न आएको थियो ।

प्रदेश नम्बर–१ को सात जिल्लामा ३६ शाखा कार्यालय रहेको सप्तकोसी बैंकको चार अर्ब ३० करोड रुपैयाँ निक्षेप छ ।

साविकको काबेली विकास बैंक र सप्तकोसी डेभलपमेन्ट बैंक ‘मर्जर’मा गएर हाल सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट वित्तीय कारोबार गरिरहेको यो बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गको वित्तीय संस्था हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय