जनकपुरधाम । नेपाल खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुखलाई कपडा च्यातेर जनकपुरधाममा घुमाएपछि पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै जनमत पार्टीका नेता/कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय, धनुषा अगाडि धर्ना दिएका छन् । धर्नामा बसेका सो पार्टीका कार्यकर्तालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बस्नेक्रममा ३० जना कार्यकर्ता पक्राउ परेको सो पार्टीले जनाएको छ ।

धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले कार्यालय प्रमुखमाथि दुर्व्यवहार गर्ने १३ जनालाई पक्राउ गरेको जानकारी दिए । उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए । धर्नामा बसेकालाई भने छलफलका लागि भित्र बोलाइएको उनको भनाइ छ ।
बिहीबार दिउँसो लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत पार्टीका कार्यकर्ताले निमित्त कार्यालय प्रमुख राजेश्वर कुशवाहालाई नियन्त्रणमा लिएर पैदल हिँडाएर जनकपुरधाम उपमहानगरपालिकासम्म लगेका छन् । सो क्रममा कार्यालय प्रमुख कुशवाहाको शरीरमा हिलो छ्याप्दै उनको सर्ट समेत जनमत कार्यकर्ताले च्यातिदिएका थिए ।
बाटो खनेर काम अगाडि नबढाएको सन्दर्भमा पटक–पटक ध्यानाकर्षण गराउँदा समेत कुनै चासो नदिएपछि कार्यालय प्रमुखलाई नगर घुमाएको जनमत पार्टीले बताएको छ।
यो पनि...
खानेपानी संस्थान जनकपुरका प्रमुखमाथि सीके राउतका कार्यकर्ताको दुर्व्यवहार



