उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् । मन्त्री यादवले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

ग्यासको अभाव समाधान गर्न नसकेको विषयमा बुधबार सार्वजनिक अभिव्यक्ति दिएपछि मन्त्री यादव विवादमा आएकी थिइन् । उनको अभिव्यक्तिप्रति उद्योगी–व्यवसायीले समेत आपत्ति जनाएका थिए । विवादित अभिव्यक्ति दिएको २४ घण्टा नबित्दै मन्त्री यादवले बिहीबार राजीनामा दिएकी हुन् ।

बुधबार उद्योग, आपूर्ति तथा श्रम र सामाजिक सुरक्षा समितिको बैठकमा मन्त्री यादवले उद्योगी–व्यवसायीहरूविरुद्ध कडा अभिव्यक्ति दिएकी थिइन् । खासगरी बजारमा लामो समयदेखि समस्याको रूपमा रहेको ग्यासको आपूर्तिको मुद्दालाई लिएर मन्त्री यादवले यसको कारण उद्योगीहरू नै रहेको आरोप लगाउँदै उद्योगीहरूलाई पाता नफर्काएसम्म बजारमा ग्यासको सहजता नहुने अभिव्यक्ति दिएकी थिइन् । यसको विरोधमा निजीक्षेत्र, उद्योगी–व्यवसायीहरू एकमत हुँदै गर्दा जेन–जी फ्रन्ट, सत्तापक्षकै दबाबमा उनले आज राजीनामा दिएकी हुन् ।

समितिको बैठकमा उपस्थित सांसदहरूले ६ महिनादेखि बजारमा ग्यासको हाहाकार भएको तर आयल निगमले साविकको दरभन्दा बढी ग्यासको आपूर्ति भइरहेको बताइरहँदा पनि बजारमा अभाव जारी रहेको भन्दै आक्रोश व्यक्त गरेका थिए । कहाँ, कसका कारण, किन ग्यासको अभाव भइरहेको भन्ने प्रश्नमा मन्त्री यादवले आफूले ठूलो कोसिस गर्दा पनि काम गर्न नसकेको दाबी गरेकी थिइन् ।

खासगरी कर्मचारी र उद्योगीहरूको साँठगाँठकै कारण बजारमा ग्यासको सहज आपूर्ति गर्न नसकेको भन्दै मन्त्री यादवले उद्योगी–व्यवसायीलाई पाता नफर्काएसम्म ग्यासको सहजता नहुने बताएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘उद्योगी, व्यवसायीलाई पाता नफर्काएसम्म बजारमा ग्यासको सहजता हुँदैन । अरु देशमा ३ वटा उद्योग हुँदा हुने तर हाम्रोमा ५८ वटा उद्योग हुँदा पनि ग्यासको सहज आपूर्ति हुन सकिरहेको छैन । किन यस्तो भइरहेको छ ?’

आफूले काम गर्न खोज्दा पनि कर्मचारी र उद्योगीहरूकै कारण बजारमा अराजकता मौलाएको मन्त्री यादवको भनाइ थियो । काम गर भन्दा कर्मचारीले ऐन–नियमले दिँदैन भन्ने गरेको, ऐन–नियम परिवर्तन गरौँ न त भन्दा उद्योगी–व्यवसायीको सहमतिबिना गर्न नसकिने भन्ने गरेको भन्दै मन्त्री यादव कर्मचारीप्रति समेत आक्रोशित बन्न पुगेकी थिइन् । मन्त्रीको यो अभिव्यक्तिको सर्वत्र आलोचना भएको थियो ।

अन्ततः यसको २४ घण्टा पनि नबित्दै मन्त्री यादवले पदबाट राजीनामा दिएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय