सप्तरी । मधेस प्रदेशसभामा निर्वाचित एमाले नेता राजकुमार लेखीले शैक्षिक क्षेत्र उकास्ने अभियानअन्तर्गत विद्यालयहरूको निरीक्षण गरेका छन्। सप्तरी क्षेत्र नं १ बाट साक्षर अभियानमा जुटेका उनले मध्यनन्द, विशेश्वर वैरागी र गोबर्द्धन विद्यालयको निरीक्षण गरे।

निरीक्षणपछि उनले विद्यालयहरूको अवस्था नाजुक रहेको बताए। उनले केही स्कुलको व्यवस्थापन राम्रो देखिए पनि अस्तव्यस्त रहेको बताए। ‘हाम्रा विद्यालयहरूलाई अब सुधार गर्दै लैजानुपर्छ। विद्यालयमा जबसम्म राम्रो वातावरण हुँदैन। तबसम्म विद्यार्थी आकर्षित हुन सक्दैनन्,’ निरीक्षणपछि उनले भने।

स्थानीय जनप्रतिनिधिसहित उनले विद्यालयको अवलोकन र निरीक्षण अभियानलाई तीव्रता पारेका छन्। उनले सप्तरीसहित मधेस प्रदेशको साक्षरता दर एकदमै न्युन रहेको भन्दै त्यसलाई सुधार गर्ने अभियानमा जुटेको बताए। केही दिनअघि मात्रै उनले सरोकारवालाहरूसँग शैक्षिक क्षेत्रको सुधारका विषयमा अन्तर्क्रिया गरेका थिए।

‘मधेस प्रदेशको प्रतिनिधिका रुपमा निर्वाचित भएसँगै यहाँका मुद्दा उठान र कार्यान्वयन गराउने दायित्व मैले लिनुपर्छ। त्यही दायित्व नर्वाह गर्नका निम्ति मैले शिक्षा क्षेत्रबाट सुरुवात गरेको हुँ,’ लेखीले भने।

मधेस प्रदेशको साक्षरता जम्मा ६५ प्रतिशत रहेको छ। त्यसमा पनि सप्तरी क्षेत्र नं १ को जम्मा ५५ प्रतिशत रहेको लेखीले बताए। ‘हाम्रो क्षेत्रमा यतिका न्युन साक्षरता हुनु दुःखद कुरा हो। अब पनि यसतर्फ ध्यान नदिने हो भने भोलिका पुस्ताले हामीलाई सराप्नेछन्,’ उनले भने।

उनले सप्तरीसहित प्रदेशकै शैक्षिक स्तर उकास्ने योजनासमेत प्रस्तुत गरेका छन्। उनले विद्यार्थी भर्ना अभियानदेखि विद्यालयको गुणस्तर, अनुगमन र निरन्तर प्रशिक्षणको व्यवस्था मिलाउनुपर्ने बताए। उनले राम्रो विद्यालयलाई पुरस्कृत गर्नेदेखि विपन्न परिवारलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने नीति लिनुपर्ने बताए।

गुणस्तरीय शिक्षा प्रदान गर्न विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब र सूचना प्रविधिमा जोड दिनुपर्ने उनको भनाइ छ। उनले प्राविधिक शिक्षातर्फ पनि जोड दिनुपर्ने बताए। ‘यतिले मात्र पुग्दैन। शिक्षामा विज्ञहरुको समूह निर्माण गर्ने, शिक्षण पेसालाई अझै सम्मानित बनाउने, विद्यालयका समस्याहरूबारे नियमित अनुगमन र अन्तर्क्रियाहरू गर्न आवश्यक छ। यसका लागि मैले पहलकदमी लिनुपर्छ,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय