सिरहा । नेकपा एमालेका युवा नेता दिनेश यादवलाई पितृ शोक परेको छ । युवा नेता यादवको ७४ वर्षीय बुबा सिरहा नगरपालिकाका पूर्व वडाअध्यक्ष रामप्रसाद सढोकको हृदयघातका कारण निधन भएको छ । सिरहा अस्पतालमा उपचारको क्रममा सढोकको निधन भएको हो ।
७४ वर्षीय सढोकको कमला नदीमा अन्तिम संस्कार गरिएको छ । युवा नेता यादवका दाजु अधिवक्ता विनोद कुमार यादवले दागवत्ती दिएका छन् । पूर्व वडाअध्यक्ष सढोकको एक श्रीमति घुरनी देवी, छोरी निर्मला देवी यादव, छोराहरु अधिवक्ता विनोद, युवा नेता यादव रहेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा नेकपा एमालेबाट सढोक निर्वाचित भएका थिए । त्यसअघि बसपिट्टा गाउँ विकास समिति वडा नम्बर ४ का वडा अध्यक्ष समेत बनेका थिए । विभिन्न राजनीतिक आन्दोलनमा सक्रिय रहेका ७४ वर्षीय सढोक नेपाली काँग्रेस, सदभावना पार्टी हुँदै नेकपा एमाले प्रवेश गरेका थिए । राजनीतिसँगै समाजिक कार्यमा सक्रिय रहेका यादवको निधनमा नेकपा एमाले सिरहाले शोक व्यक्त गरेको छ ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सिरहा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लीलानाथ श्रेष्ठले सढोकलाई पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । त्यससँगै सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादव, नरहा गाउँपाालिकाका अध्यक्ष रामप्रमोद यादव, विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्य नारायण यादव लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको अन्तिम संस्कार कार्यक्रममा सहभागिता रहेको थियो ।



