शिक्षक, कर्मचारी सम्मानदेखि खेलकुद र नृत्य प्रतियोगिता आयोजना
सिरहा । सिरहा सदरमुकाममा रहेको चन्द्र नमुना माध्यमिक विद्यालय सिरहाले स्थापनाको १०८औं वार्षिकोत्सव मनाएको छ ।
स्थापना दिवसको अवसरमा आईतवर विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । साताव्यापी कार्यक्रम अन्र्तगत विभिन्न खेलकुद प्रतियोगितादेखि नृत्य र विद्यालयका शिक्षक–कर्मचारीलाई सम्मान गर्दै स्थापना दिवस मनाएको हो ।
विद्यालयले २०७१ साल देखि आफ्नो स्थापना दिवस भव्यताका साथ मनाउन थालेको हो । वि.स. १९७१ मा स्थापना भएको देशको दोस्रो जेठो चन्द्र नमुना माध्यमिक विद्यालयले आफ्नो सतवार्षिकोत्सव २०७१ सालमा भव्य कार्यक्रम गरी आयोजना गरेको थियो । देशको प्रथम राष्ट्रपति डा रामवरण यादवले सतवार्षिकोत्सवको उद्घाटन गरेका थिए ।
वि.सं. १९७१ मा तात्कालिन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरको पालामा सिरहामा ‘चन्द्र मिडिल स्कूल’को स्थापना गरिएको थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरको नाउँबाट विद्यालयको नामाकरण गरिएको हो ।
प्रारम्भिक कक्षादेखि १२ कक्षासम्म साधारणतर्फ पठनपाठन हुँदै आएको छ भने प्राविधिकधारतर्फ इलेक्ट्रिकल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङको पठनपाठन हुँदै आएको छ । विद्यालयमा अहिले ३ हजार वढी बालबालिका अध्ययनरत रहेको विद्यालयका प्रचार्य मधुसुदन कर्णले बताएका छन् ।
कर्मचारी र शिक्षकलाई सम्मान
वार्षिकोत्सवको अवसरमा विद्यालयले वर्षको उत्कृष्ट कर्मचारीको रुपमा जिवछ यादवलाई सम्मान गरेको छ । यस्तै विद्यालयको प्राथमिक तह अन्र्तगत उत्कृष्ट शिक्षकको रुपमा सुषमा यादवलाई सम्मान गरिएको छ भने निम्न माध्यमिक तह अन्र्तगत उत्कृष्ट वर्ष शिक्षकमा गणेश मण्डललाई सम्मान गरिएको छ । यस्तै उत्कृष्ट वर्ष प्राविधिक प्रशिक्षकका रुपमा रुकेश यादवलाई सम्मान गरिएको छ । यस्तै मा.विं२ उत्कृष्ट शिक्षकमा राजिप यादवलाई सम्मान गरिएको छ ।
यस्तै नगर स्तरीय हाजरी जवाफ प्रतियोगिता, नृत्य प्रतियोगिता, छेलो प्रतियोगिता, कब्बडी प्रतियोगिता, २०० मीटर, ४०० मीटर, ८०० मीटर दौड प्रतियोगिता र लंगजम्प लगायतका खेलमा विजयी भएकाहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
विद्यालयका प्रध्यनाध्यापक मधुसुदन कर्णको अध्यक्ष्तामा भएको १०८औं वार्षिकोत्सवमा प्रमुख अतिथिका रुपमा सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादव, विशिष्ठ अतिथिमा पूर्व उपमेयर उपेन्द्र यादव, वडाअध्यक्षहरु महेश कुमार यादव, विनोद कुमार कामती, जिवछ नारायण यादव, मोहम्मद समशाद, इन्द्रजित यादव, राकेश कुमार यादव, शैलेन्द्र यादव, जागेश्वर लगायतले शिक्षक, विभिन्न विद्यालयका बालबालिका र शिक्षकहरुको सहभागिता रहेको थियो । विभिन्न प्रतियोगितामा भाग लिएका विद्यार्थीहरुलाई वडा अध्यक्षहरुले प्रमाणपत्र, मेडल वितरण गरेको वार्षिकोत्सव कार्यक्रमका उद्घोषक रहेका शिक्षक राजिप यादवले बताए ।