काठमाडौ : विश्वका प्रभावशाली देशका केन्द्रीय बैंकले मुद्रास्फीति (महँगी) नियन्त्रण गर्न ब्याजदर बढाउन थालेका छन् । सन् २०२२ यता ५० वटा भन्दा धेरै देशका केन्द्रीय बैंकहरुले ब्याजदर वृद्धि गरिसकेका छन् । कोभिड–१९ बाट सुरु भएको विश्व आर्थिक संकट रुस र युक्रेन युद्धले थप असर गरेको छ । खासगरी युरोपका देशहरुमा यसको प्रभाव धेरै देखिएको छ । यसैक्रममा, अमेरिकाको फेडरल रिजर्भले बुधबार ०.७५% ले ब्याजदर बढाउने घोषणा गरेको छ ।
मुद्रास्फीति नियन्त्रण गर्न यस्तो कदम चालिएको हो । हाल वृद्धि भएको मुद्रास्फीति दर ४० वर्ष यताकै सबै भन्दा धेरै हो । यसलाई नियन्त्रण गर्न सकिएन भने थप आर्थिक मन्दी हुन सक्ने अर्थविद्धहरुले बताएका छन् । यसैक्रममा डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । चीन, भारत, जापान, अमेरिका, अष्ट्रेलिया लगायतका विकसित देशहरुले ब्याजदर बढाएका छन् ।

तर नेपालमा भने एक वर्षदेखि नै निरन्तरजसो ब्याजदर बढिरहेको छ । हाम्रो ब्याजदर निकै उच्च विन्दुमा पुगिसकेको छ । यहाँ त ब्याजदर अति धेरै भइसकेको र अब घटाउनुपर्ने आवाजसमेत बुलन्द भइसकेको छ । उद्योगी–व्यवसायीहरुले तत्काल ब्याजदर घटाउन माग गरेका छन् ।
यसैक्रममा, अर्थमन्त्री जनार्दन शर्माले ब्याजदर धेरै बढाउँदा उत्पादन वृद्धि नहुने भन्दै यससमा तत्काल केही कदम चालिने बताइसकेका छन् । नेपालका बैंकहरुले असोज महिनामा समेत ब्याजदर बढाएका छन् । रेमिटेन्स खातामा निक्षेपको ब्याजदर १५% भन्दा माथि पुगिसकेको छ ।



