सिरहा । पत्रकार परिचयपत्रको दुरुपयोग गर्दै लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा एक व्यक्तिको पक्राउ परेपछि नेपाल पत्रकार महासंघ सिरहा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका अध्यक्ष मनोज बनैतद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा लागुऔषध नियन्त्रण ब्युरोले सार्वजनिक गरेको विवरणअनुसार ‘जनजागरण खबर’ नामक पत्रिकाको न्युज रिपोर्टर परिचयपत्र प्रयोग गरेका उमेश कुमार यादव ब्राउन हेरोइनसहित पक्राउ परेको घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।
विज्ञप्तिमा पत्रकारिता जस्तो जिम्मेवार र मर्यादित पेशाको नाममा कुनै पनि प्रकारका गैरकानुनी, अनैतिक वा आपराधिक गतिविधि स्वीकार्य नहुने स्पष्ट पारिएको छ । प्रेस परिचयपत्र वा सञ्चारमाध्यमको आवरणमा अपराध गर्ने जो–कोहीमाथि कानुनबमोजिम कडा कारबाही हुनुपर्ने महासंघको धारणा रहेको छ ।
महासंघका अनुसार पछिल्लो समय सिरहा जिल्लामा केही व्यक्ति विभिन्न पत्रपत्रिका, अनलाइन सञ्चारमाध्यम तथा युट्युब च्यानलको नाम प्रयोग गरी सरकारी तथा निजी कार्यालयका कर्मचारीलाई धम्क्याउने, अनावश्यक दबाब सिर्जना गर्ने, आर्थिक लाभ लिन खोज्ने तथा नेपाल–भारत सीमावर्ती सुरक्षा निकायमा प्रेस कार्डको प्रभाव देखाउनेजस्ता गतिविधिबारे पटक–पटक गुनासा र सूचना प्राप्त हुँदै आएका छन् ।
महासंघले प्रेस कार्ड प्रयोग गर्ने सबै व्यक्ति पत्रकार नहुने स्पष्ट गर्दै पत्रकारिता आचारसंहिता, जिम्मेवारी र व्यावसायिक मर्यादामा आधारित पेशा भएको उल्लेख गरेको छ । पत्रकारिताको नाम, सञ्चारमाध्यमको परिचय वा प्रेस परिचयपत्रको दुरुपयोग गरी गरिने कुनै पनि गैरकानुनी गतिविधिलाई महासंघले कदापि स्वीकार नगर्ने विज्ञप्तिमा जनाइएको छ ।
महासंघले जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायलाई यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम कडा कारबाही गर्न आग्रह गरेको छ । साथै, पत्रकारिताको आवरणमा गैरकानुनी गतिविधि गरेको पाइए त्यस्ता व्यक्तिको वास्तविक पत्रकारिता हैसियतसमेत छानबिन गर्न सम्बन्धित निकायसँग अनुरोध गरेको छ ।
नेपाल पत्रकार महासंघ सिरहा शाखाले स्वतन्त्र, उत्तरदायी र मर्यादित पत्रकारिताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै पत्रकारिताको नाममा अपराध गर्ने जो–कोहीलाई कानुनको दायरामा ल्याउन राज्यका निकायसँग पूर्ण सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय