काठमाडाैं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले फागुन अन्तिम साताबाट निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । आयोगका अनुसार दल दर्ताको प्रक्रिया पूरा भएपछि आचारसंहिता लागू गर्ने तयारी भइरहेको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार दल दर्ताका लागि परेका निवेदनको टुंगो लागेपछि आचारसंहिता लागू गर्ने तयारी रहेको छ । ‘दल दर्ताका लागि परेका निवेदनको छानबिन गरी स्वीकृत प्रदान गरेपछि निवार्नचनमा सहभागी हुने दलको टुंगो लाग्छ,’ उनले भने, ‘निर्वाचनमा सहभागी हुने दलको टुंगो र निर्वाचन अधिकृतको टुंगो लागेसँगै आचारसंहिता लागू गर्ने तयारी छ । फागुन अन्तिम साताबाट आचारसंहिता लागू हुने सम्भावना छ ।’
आयोगले फागुन १५ सम्म निर्वाचनका लागि दल दर्ताको निवेदन दिने समयावधि तोकेको थियो। यस अवधिमा ८० दलले निवेदन दिएका थिए । आयोगका अनुसार फागुन १६ सम्मको अवधिमा आयोगमा १११ दल दर्ता भएका छन् ।

आयोगका पदाधिकारीको बैठकले निर्वाचन प्रभावित हुन सक्ने अवस्थालाई हेरेर आचारसंहिता स्वीकृत गरी लागू गर्ने गर्दछ । आयोगले आचारसंहिता बनाउने काम अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। विभिन्न चरणमा निर्वाचन आचारसंहिता लागू हुनेछ । सोमबार आयोगले सूचनामार्फत चैत्र १५ अघि कर्मचारीको सरुवा र पदस्थापना गरिसक्न निर्देशन दिएको थियो । आयोगले चैत्र १५ पछि स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्म कर्मचारीको सरुवा र पदस्थापना नगर्न निर्देशन दिइसकेको छ।



