सिरहा । सिरहा–चोहर्वाको सहायक राजमार्ग मर्मतको काम भईरहेको छ । मर्मतको काममा सडक डिभिजन कार्यालय लहान र निर्माण व्यसायीको मेलोमतोमा गुणस्तरहीन सामग्रीको प्रयोग भईरहेको छ ।
सिरहा–चोहर्वा सडक खण्ड अन्तर्गत नयाँचोक चोहर्वा देखि नरहा चोकसम्म फुटेको कालोपत्रे (पिच) मर्मत गरी ४ सिसि मोटाई र ५.५ मिटर चौडाई स्पाल्ट गर्ने कार्य गरी विकास निर्माण सेवा मिर्चैयाले ३ करोड ३० लाख ९१ हजार ७० रुपैयाँमा २०७७ फागुन १ निर्माणको सम्झौता गरेको थियो । २०७८ फागुन १० मा निर्माण कार्य सक्नेगरी सम्झौता गरेपनि अझैं निर्माण काम पूरा गर्न सकेको छैन् ।
भत्केका सडक मर्मत गरी आस्फाल्ट गर्ने भएपनि ठाउँठाउँमा माफदण्ड अनुसारको काम हुन सकेको छैन् । बढ्दो सवारी चाप रहेको यस सडक खण्डमा आस्फाल्ट सडक निर्माण गर्ने क्रममा लेवल पनि मेन्टेन गर्न सकिएको छैन् ।
बिष्णुपुर–सिरहाखण्डमा प्रिमिक्स सडक
यता सिरहाको बिष्णुपुर चौकदेखि सिरहासम्मको करिब ५ हजार एक सय स्क्वायरमिटरमा प्रिमिक्स गर्ने काम सुरु भएको छ । लक्ष्मी कन्स्ट्रक्शन धनुषाले २३ लाख ७१ हजार ८१७ रुपैयाँमा गत पुस २७ मा मर्मतसम्भार गर्ने सम्झौता गरेको छ । अगामी असार २५ भित्र मर्मत सम्भार गर्ने गरी प्रिमिक्सको सम्झौता गरेको निर्माण कम्पनीले बेस सहित कालोपत्रे गर्ने कार्य रहेको सडक डिभिजन कार्यालय लहानका सबइन्जिनियर चन्द्रकान्त चौधरीले बताएका छन् ।

कार्यालय र निर्माण व्यवसायीवीचको मिलोमतोले गर्दा सम्झौता विपरीतका सामग्री प्रयोग भईरहेको छ । १० टनको गिट्टीको ठाउँमा ठूलो २० टनको गिट्टी प्रयोग गर्दै गरेको र सडकको क्वान्टीटि पूरा गर्न राम्रो सडकमा पनि मर्मत गरेको गरी फर्जि काम भईरहेको छ । आवश्यक गुणस्तरको सामग्री नदिदा सिरहा–चोहर्वा सडकखण्ड वर्षेनी करौडौं खर्चिएर मर्मत गरिएपनि वर्षदिन नटिक्ने अवस्थामा पुग्छ । कार्यालय र निर्माण व्यवसायीको मिलोमतोले गर्दा कमसल सामग्री प्रयोग बढेपछि वर्षदिन पनि नटिक्ने अवस्था रह्ने गरेको सार्वजनिक यातायातका चालकहरुको भनाई रहेको छ ।
सडक डिभिजन कार्यालय लहान सिरहाका सबइन्जिनियर चौधरीले १० टन गिट्टीको सट्टामा २० टनको गिट्टी निर्माण व्यसायीले प्रयोग गर्दा एक पटक रोकेको बताएका छन् । आफूसँग पनि साईटका निगरानी राख्नेगरी प्रयाप्त समय नहुँदा निर्माण व्यवसायीले बदमासी गर्ने गरेको सवइन्जिनियर चौधरीको दावी छ । गिट्टीसँगै निर्माण व्यवसायीले सडकको टेम्प्रेचर मेन्टेन्स्लाई कुनै मतलब नराख्ने गरेको चौधरीको भनाई छ । स–साना भत्किएको सडकमा ठूलो रोलर चलाउन समस्या हुँदा राम्रो रहेको सडकमा पनि मर्मत गर्नु परेको सवइन्जिनियर चौधरीले बताए ।



