शुभ नारायण कामती
सिरहा । सिरहा नगरपालिकामा नेकपा एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका मेयरमा डा. नविन कुमार यादव र उपमेयरमा बबिता कुमारी साह विजयी भएकाछन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाले सार्वजनिक गरेको मत परिणाम अनुसार मेयर डा. नविन कुमार यादवले २ हजार २ सय २३ मत अन्तरले विजयी भएका छन् । उनले ११ हजार १ सय ४३ मत प्राप्त गरेका छन् ।
निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका मधेश प्रदेश महामन्त्री उपेन्द्र कुमार यादवले ८ हजार ७ सय २० मत पाएका छन् । जनता समाजवादी पार्टीका नगर अध्यक्ष एव निवर्तमान मेयर अशेश्वर प्रसाद यादवले ७ हजार ७ सय ३४ र नेकपा एकीकृत समाजवादी पार्टीका रिता कुमारी यादवले ५ हजार ९ सय ३ मत प्राप्त गरेका छन् ।
मेयरमा निर्वाचित डा. नविन कुमार यादव स्थानीय तह निर्वाचन २०७४ मा जसपा नेपालका अशेश्वर प्रसाद यादवसँग १ सय ७१ मत अन्तरले पराजित भएका थिए ।
यस्तै उपमेयरमा निर्वाचित साहले १० हजार १ सय २६ मत प्राप्त गरेका छन् । उनी १ हजार ५ सय ३७ मत अन्तरले विजयी भएकी छिन् ।
निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी सरिता कुमारी यादवले ८ हजार ५ सय ८९, जनता समाजवादी पार्टी नेपालकी शशी ऋषि मित्रा माझी मुसहरले ७ हजार ८ सय ५५ र नेकपा एकीकृत समाजवादी पार्टीका रविन्द्र कुमार साहले ६ हजार ७ सय ४२ मत प्राप्त गरेका छन् ।

मेयरमा निर्वाचित डा. यादव २०७० मा दोस्रो संविधान सभा निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकवाट सिरहा क्षेत्र नम्बर ३ वाट संविधान सभा निर्वाचनमा उम्मेदवारी दिएर पराजित भएका थिए । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिकाको मेयरमा १७१ मत अन्तरले पराजित भएपनि एमालेकी डा. नमिता यादव उपमेयरमा निर्वाचित भएकी थिइन ।
मेयरमा निर्वाचित डा. नविन कुमार यादव सन् २००० मा काजाकिस्तानवाट एमबीबीएस र सन् २०१० मा किर्गिस्तानवाट बालरोग विशेषज्ञको अध्ययन पूरा गरेका थिए ।



