राजविराज । स्थानिय तह निर्वाचनका लागि सप्तरी जिल्लामा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएका छन् । सोमबार साँझ ८ बजेसम्म जिल्लाभरमा गरेर कुल २ हजार १ सय ८७ जना उम्मेदवारले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
साँझ ५ बजे सम्म उम्मेदवारहरु उम्मेदवारी दर्ता गराउने लाइनमै रहेका कारण पूर्ण तथ्यांक आउन रातभरी लाग्ने निर्वाचन कार्यालयले जनाएको छ । सप्तरी जिल्लामा कुल ९ नगरपालिका ९ गाउँपालिका र १ सय ६४ वटा वडा रहेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, प्रगतीशिल पार्टी, नेपाल सद्भावना पार्टीसहितका दल र स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन कार्यालयले साँझ ८ बजेसम्म उपलब्ध गराएको तथ्यांक अनुसार सप्तरीमा कुल नगरप्रमुखमा ५४ जना, उप प्रमुखमा ३७ जना, गाउँपालिका अध्यक्षमा ६२ जना उपाध्यक्षमा ३९ जना, वडाध्यक्षमा ४ सय ७८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, सदस्यमा ७ सय ५५ जना, महिला सदस्यमा ३ सय ६८ जना र दलित महिला सदस्यमा ३ सय ५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । साँझ ८ बजेसम्म सबभन्दा बढी बोदेवरसाइन नगरपालिकामा २ सय २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सबभन्दा कम राजगढ गाउँपालिकामा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
राजविराज नगरपालिकामा मुख्य राजनीतिक दल र स्वतन्त्र गरी साँझसम्म ११ जनाले नगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसवाट इर्साद अन्सारी, जनता समाजवादी पार्टीबाट भिमराज यादव, नेकपा (माओवादी केन्द्र)बाट शम्भुप्रसाद यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट दिपेन्द्र चौधरी, एमालेबाट अनिलकुमार झा, राप्रपाबाट उमेश साह, जनमत पार्टीबाट ममता झा, तमलोपाबाट भुपेन्द्र यादवले नगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवारका रुपमा नगरप्रमुखमा मोहन राम, रुद्रनारायण चौधरी र भरत चौधरीले मनोनयन दर्ता गराए ।
सबै स्थानीय तहमा उम्मेदवारहरुको पूर्ण विवरण यकिन गर्न रातभरी लाग्ने निर्वाचन कार्यालयले जनाएको छ । लाइनमा रहेका उम्मेदवारहरुको मनोनयन पत्र दाखिला गर्ने र रेकर्डमा राख्ने काम भइरहेको छ । उम्मेदवारहरुबाट मनोनयन पत्र लिएर पालैपालो सूचिकरणको कार्य भइरहेको छ ।



