सिरहा । स्थानीय निर्वाचन नजिकिदै गर्दा विभिन्न भौतिक निर्माण कार्यको शिल्यानाश गर्ने कार्यले तिव्रता पाएको छ । मधेश प्रदेशका जिल्लाहरुमा केन्द्रीय नेतादेखि प्रदेशका नेताहरु शिल्यानाश कार्यलाई उच्च प्राथमिकतामा राख्दै ठाउँठाउँ पुग्दै गरेको तथ्यहरु उजागर भएको छ ।
त्यही क्रममको निरन्तरता हो माडर–सिरहा–चोहवा, सिरहा–कल्याणपुर–मिर्चैया सडक शिल्यानाश कार्यक्रम । यी दुई सडक निर्माण कार्य गर्न संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव र जसपा नेता सिरहा क्षेत्र नम्बर ४ का साँसद एवं पूर्व मन्त्री राजकिशोर यादवले शिल्यानाश गरेका छन् । सिरहाको चोहर्वा र कल्याणपुरमा शिल्यानाश गरिएको सडकको निर्माण कार्य कहिले सुरु हुने हो भन्ने कुराको टुंगो नै लाग्न सकेको छैन् ।

माडर–सिरहा–चोहर्वा सडक चार लेन बनाउन पहिलो चरणमा ४० करोड रुपैयाँको सुनिश्चितता भएपछि सडक डिभिजन कार्यालयले लागत इस्टिमेड तयार गरेको छ । डिभिजन सडक कार्यालय लहान सिरहा अनुसार सडक निर्माण कार्यको प्रारम्भिक कार्य अर्थात लागत इस्टिमेड मात्र तयार भएको छ । टेण्डर प्रकृया लगायतका प्राविधिक पक्षको टुंगो लाग्न बाँकी रहेकै बेला गत चैत ११ मा मन्त्री यादव, पूर्वमन्त्री यादवले सडकको शिल्यानाश कार्यमा सहभागी भएका छन् ।
कस्तो बन्छ सडक
डिभिजन सडक कार्यालय लहान सिरहा अनुसार माडर–सदरमुकाम सिरहा–चोहर्वा सडक चार लेनको निर्माण गरिनेछ । २२ मिटर चौडाइ रहने माडर–सदरमुकाम सिरहा–चोहर्वा चार लेन सडकखण्डमा विनियोजन गरेको रकमबाट पहिलो चरणमा २ हजार ५ सय ५० मिटरको निर्माण कार्य गरिनेछ । यो सडकमा गाउँ क्षेत्रमा १४ मिटर र शहरी क्षेत्रमा १८ मिटर कालोपत्रे निर्माण गर्ने लागत स्टीमेड तयार गरिएको छ । जसको टेण्डर लगायतका प्रकृया पूरा हुन अझैं महिनौं लाग्ने सडक डिभिजन कार्यालय, लहान सिरहाका प्रमुख ई.राम कुमार देवले बताएकाछन् ।

यता मिर्चैया–कल्याणपुर–सिरहा सडकखण्डमा पहिलो चरणमा ८ हजार ५ सय ८० मिटरको निर्माण कार्य हुनेछ । दुई लेनको यो सडकको चौडाइ ११ मिटर रह्ने गरी स्टीमेड गरिएको छ । सडक निर्माणको समय २ वर्ष राखिएको रहेको छ ।
प्रकृया टुंगो नलाग्दा मन्त्रीले शिल्यानाश गरेको सडकको सम्बन्धमा आलोचना सुरु भएको छ । टेण्डर प्रकृया पूरा गरी निर्माणको टुंगो लागेपछि शिल्यानाश हुनुपर्नेमा जस कमाउन स्टन्ट गरिएको जानकारहरु बताउँछन् । ‘हतार हतारमा शिल्यानाश गरिएको छ,’ शिव नारायण यादवले भने,‘यसले मन्त्रीदेखि साँसदको हतारो बाहेक अरु केही छैन् । निर्माण सुरु हुने कहिले हो कहिले शिल्यानाश चाहि पहिले गर्नु अनुचित हो ।’

सडक शिल्यानाशलाई लिएर समाजिक सञ्जालहरुमा पनि व्यापक आलोचना भईरहेको छ । टेण्डर प्रकृया सुरु नहुँदै जस कमाउन शिल्यानाश गर्नु एक प्रकारले नागरिकलाई मूर्ख बनाउने काम रहेको कतिपयले समाजिक सञ्जाल फेसकुबमा लेखेका छन् ।
जिम्मेवार मन्त्री र साँसदले प्राविधिक कार्य पूरा भएर टेण्डर लागिसकेपछि शिल्यानाश गर्नुपथ्यो,’ ओम प्रकाश साहले भने,‘त्यस विपरीत हतारमा शिल्यानाश गरियो । यो मुर्ख बनाउने काम हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय