शुभ नारायण कामती
सिरहा । सिरहाका सामुदायिक सर्पदंश उपचार केन्द्रलाई व्यवस्थित तथा स्तरोन्नति गरी प्रभावकारी सेवा सञ्चालन गर्ने विषयमा नेपाली सेना र स्थानीय तहबीच अन्तरक्रिया भएको छ ।
श्रीनन्दबक्स गणको सहजीकरणमा शुक्रबार चोहर्वा र बन्दीपुरस्थित सामुदायिक सर्पदंश उपचार केन्द्रको व्यवस्थापन, स्तरोन्नति तथा प्रभावकारी सञ्चालनसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, निमित्त प्रमुख जिल्ला अधिकारी र सम्बन्धित उपचार केन्द्रका व्यवस्थापन समितिका प्रतिनिधिको सहभागिता थियो ।
सर्पदंशका घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्दै समयमै प्रभावकारी तथा गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय तहहरूले सर्पदंश उपचार केन्द्रको स्तरोन्नतिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा स्थानीय तह, नेपाली सेना तथा उपचार केन्द्रका व्यवस्थापन समितिबीच आवश्यक समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउँदै केन्द्रहरूको नियमित तथा व्यवस्थित सञ्चालनमा जोड दिइएको थियो ।
सर्पदंशका बिरामीलाई समयमै उपचार केन्द्रसम्म पु¥याउने व्यवस्था, आवश्यक जनशक्ति व्यवस्थापन, व्यवस्थापन समिति विस्तार तथा औषधि र उपकरणको उपलब्धता सुनिश्चित गर्ने विषयमा समेत छलफल भएको थियो । गम्भीर अवस्थाका बिरामीलाई उपचार गर्न चोहर्वास्थित केन्द्रमा आईसीयू तथा भेन्टिलेटरको व्यवस्था गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।
नेपाली सेनाका अनुसार स्थापना भएयता चोहर्वा र बन्दीपुरका दुवै सर्पदंश उपचार केन्द्रबाट २४ घण्टा सेवा प्रदान हुँदै आएको छ । ती केन्द्रबाट हालसम्म करिब १२ हजार जनाले उपचार सेवा लिइसकेका छन् ।
चोहर्वा सर्पदंश उपचार केन्द्रका व्यवस्थापन समिति अध्यक्ष विजय महाशेठका अनुसार आईसीयू तथा भेन्टिलेटरको सुविधा नहुँदा गम्भीर अवस्थाका बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था छ । बिरामीलाई अन्यत्र लैजाँदा उपचारमा ढिलाइ हुने तथा थप आर्थिक भार पर्ने भएकाले केन्द्रको सेवा विस्तार आवश्यक रहेको उनले बताए ।
उनका अनुसार सबै पालिकाले उपचार केन्द्रको सञ्चालन र स्तरोन्नतिमा समान रूपमा जिम्मेवारी लिएर अघि बढेमा स्थानीयस्तरमै प्रभावकारी र निःशुल्क उपचार सेवा विस्तार गर्न सहयोग पुग्नेछ ।
सर्पदंश उपचार केन्द्रको क्षमता तथा सेवा विस्तारसँगै समयमै उपचार पाउने व्यवस्था प्रभावकारी भए सर्पदंशबाट हुने मृत्यु तथा उपचारका क्रममा लाग्ने आर्थिक भार घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय