काठमाडौँ । नेपालसहित दक्षिण एसियाका चार देशले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को प्रत्येक दुई वर्षमा विश्वकप आयोजना गर्ने प्रस्तावको समर्थन गरेका छन् । अहिले प्रत्येक चार–चार वर्षमा विश्वकप आयोजना हुँदैछ ।
ती चार देशले चार वर्षको स्थानमा दुई वर्षमा विश्वकप हुँदा त्यसले फुटबल विकासमा मद्दत पुग्ने बताएको छ ।
फिफाको मे महिनामा बसेको कंग्रेसले फुटबलको विश्वकप प्रत्येक दुई–दुई वर्षमा आयोजना गर्ने प्रस्ताव अगाडि सारेको थियो । फिफाको यो प्रस्तावको युरोपेली फुटबल महासंघ र युरोपकै ठूला धनी क्लबले चर्को विरोध गर्दै आएको छ । बेलायती समाचार संस्था रोयटर्सका अनुसार फिफाको प्रस्ताव नेपालसँगै समर्थन गर्नेमा बंगलादेश र माल्दिभ्स रहेका छन् ।
अहिलेसम्म फिफाको यो प्रस्तावको १ सय ६६ देशले समर्थन गरेको छ । यी चार देशले भनेका छन्, ‘प्रत्येक चार वर्षमा विश्वकप आयोजना हुँदा समय अन्तर लामो रहेको छ, तर यसले दिने अवसर भने कम भएको छ । त्यसैले प्रत्येक दुई वर्षमा विश्वकप आयोजना गर्नु साना देशको पक्षमा रहेको छ । विश्वकपमा एसियाबाट चार देशले मात्र स्वत: प्रवेश पाउने गरेको छ ।’