काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौलाले नाबालिका हत्या अभियुक्तले प्रहरीसमक्ष दिएको बयानको भिडियो सार्वजनिक भएकोप्रति गम्भीर आपत्ति जनाएकी छन् ।
प्रहरी हिरासतमा अभियुक्तले दिएको बयानको भिडियो बाहिरिएपछि सांसद संग्रौलाले उक्त भिडियो कसरी सार्वजनिक भयो भन्ने विषयमा तत्काल छानबिन गर्न माग गरेकी हुन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नाबालिकाको हत्यासँग जोडिएको गम्भीर तथा क्रूर बयान सार्वजनिक गर्दा त्यसले समाजमा पार्न सक्ने असरबारे समेत संवेदनशील हुनुपर्ने बताएकी छन्।
‘नाबालिकाको हत्याराले प्रहरीसमक्ष दिएको बयानको भिडियो सार्वजनिक कसरी भयो ?’ भन्दै उनले प्रहरी अनुसन्धानसँग सम्बन्धित संवेदनशील सामग्री बाहिरिनु गम्भीर विषय भएको उल्लेख गरेकी छन्।
संग्रौलाले उक्त भिडियो सामाजिक सञ्जालमा छरपस्ट पार्ने कार्यप्रति समेत आपत्ति जनाउँदै भिडियो पठाउने, सर्कुलेट गर्ने तथा प्रसारण गर्ने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेकी छन्। ‘यस्तो गम्भीर र क्रूर बयान सार्वजनिक गर्दा समाजमा कस्तो असर पर्छ भन्ने कमन सेन्ससमेत नराखी सञ्जालमा भिडियो छरपस्ट पार्न भिडियो पठाउने, सर्कुलेट गर्ने र भिडियो प्रसारण गर्नेलाई खोजी–खोजी कानुनी दायरामा ल्याइयोस्,’ उनले भनेकी छन्।
उनले अनुसन्धानका क्रममा रहेका घटनाका संवेदनशील विवरण सार्वजनिक हुँदा पीडित परिवार, समाज र अनुसन्धान प्रक्रियामै नकारात्मक असर पर्न सक्ने भन्दै सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गरेकी छन्।



