सिरहा । समाज सेवा प्रभाग, ब्रह्माकुमारी सिरहाले आजदेखि भदौ ९ गतेसम्म जिल्लाका विभिन्न स्थानमा ‘विश्व बन्धुत्व रक्तदान महाअभियान’ सञ्चालन गर्ने भएको छ। अभियानबारे प्रभागले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।

‘ज्ञान–पान, योग–ध्यान, रक्तदान’ भन्ने सन्देशसहित सञ्चालन हुने अभियानअन्तर्गत सिरहा सदरमुकाम, बन्दीपुर, गोलबजार र लहानमा रक्तदान कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।

अभियानअन्तर्गत आज भदौ ५ गते सिरहा सदरमुकामस्थित सलहेश मन्दिर नजिक रहेको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा रक्तदान कार्यक्रम हुनेछ। भदौ ६ गते बन्दीपुरस्थित ब्रह्माकुमारी आश्रम, बाबा ताल नजिकै तथा भदौ ७ गते गोलबजार उद्योग वाणिज्य संघको हलमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ।

त्यसैगरी भदौ ८ गते लहानस्थित चौधरी आँखा अस्पतालमा र भदौ ९ गते ब्रह्माकुमारी राजयोग सेवा केन्द्र लहानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।

रक्त अभावका कारण उपचाररत बिरामीको ज्यान जोखिममा पर्ने अवस्थालाई मध्यनजर गर्दै मानवीय सेवाको उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको समाज सेवा प्रभागले जनाएको छ। रक्तदानलाई ‘महादान’ का रूपमा लिँदै रक्तदानले आवश्यकतामा रहेका बिरामीको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने आयोजकको भनाइ छ।

ब्रह्माकुमारी संस्था आध्यात्मिक गतिविधिसँगै सामाजिक सेवामा समेत सक्रिय रहेको जनाउँदै आयोजकले रक्तदान, रक्तसंकलन, प्राकृतिक विपद्का बेला सहयोग तथा नशामुक्ति अभियानलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिएको छ।

समाज सेवा प्रभाग, ब्रह्माकुमारी सिरहाले जिल्लावासीलाई निर्धारित स्थानमा उपस्थित भई रक्तदान गर्न तथा अभियान सफल बनाउन सहयोग गरिदिन अपिल गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय