साहित्यमा विह्वल नामले परिचित पत्रकार धर्मेन्द्र झाको नयाँ कृति प्रकाशित भएको छ । मैथिली भाषामा रहेको एक अनुसन्धानात्मक कृति ‘मिथिला मिथक’ हालै प्रकाशित भएको हो ।

झाका पहिला पनि नेपाली र मैथिली भाषामा एक दर्जनको हाराहारीमा साहित्यिक कृति प्रकाशित छन् ।

मैथिली साहित्यमा मूलतः कवि र नियात्राकारको परिचय बनाएका झा यसपटक फरक रुप र शैलीमा प्रस्तुत भएका छन् । यो नवीनतम् कृति मिथिला मिथक अनुसन्धानमा आधारित रहेको उनले बताए ।

नेपाली भाषामा पनि मिथकबारे खासै काम हुन नसकेको पृष्ठभूमिमा प्रकाशित यो पुस्तक यस विषयका लागि मैथिलीमा भने पहिलो नै मानिएको छ । यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली मिथक कोषका रुपमा नेपालका केही भाषामा प्रचलित मिथकको संकलन प्रकाशित गरेको थियो । झा उक्त कोषका पनि एक सम्पादक हुन् ।

‘नेपालको मैथिलीभाषी समाजमा किम्बदन्ती र विश्वासका रुपमा जीवित त्यस्ता मान्यता छन्, जो इतिहासको रुपमा प्रमाणित हुन सकेका छैनन्,’ लेखक झाले भने, ‘तिनलाई संकलन गरी यस पुस्तकमार्फत प्रस्तुत गरिएको छ ।’

मिथिला र मिथक, मिथिला, सीतायण र महाभारत, मिथिला विभूति, चाडपर्व, मन्दिर, देव–देवी र पोखरी तथा जनश्रूति तथा जनविश्वास गरी छ अध्यायमा विभाजित पुस्तकमा १११ वटा मिथक संकलित छन् ।

null

‘यो अध्ययन यहीँ पूर्ण हुँदैन, यो त प्रारम्भमात्र हो,’ उनी भन्छन्, ‘मिथिला क्षेत्रमा विश्वासका रुपमा यस्ता थुप्रै सन्दर्भ छन्, जसको खोजी र अध्ययन हुनु जरुरी छ ।’

यस्ता सन्दर्भहरूको अध्ययनले सम्बद्ध समाजको इतिहास, सभ्यता र परम्परा बुझ्न सघाउने यसै पुस्तकका भूमिका लेखकसमेत रहेका मैथिली साहित्यका अनुसन्धानकर्ता तथा लेखक डा रमानन्द झा रमण बताउँछन् । भारतलाई कर्मभूमि बनाएका रमणले मैथिली भाषामा संकलन गरिएका यस्ता उदाहरण भारतमा पनि उपलब्ध नभएको बताएका छन् ।

यस्तै अर्का भूमिका लेखक त्रिभुवन विश्वविद्यालयमा नेपालीका उपप्राध्यापक राजेश यादव विद्रोहीले कुनै पनि समाज र सभ्यता बुझ्न मिथक सहयोगी हुने बताउँदै झाको यो कार्य महत्त्वपूर्ण ठहरिने विश्वास व्यक्त गरेका छन् ।

अध्ययन प्रक्रियाका दृष्टिले निकै जटिल मानिने मिथक स्वयंमा इतिहास मानिँदैन तर यिनले इतिहासको अध्ययन प्रक्रियालाई भने आधार प्रदान गर्ने विश्वास गरिन्छ ।  पुस्तक प्रस्तुतकर्ता झाले यसमा संकलित सबै सामग्री मिथक नै हुन् भन्ने दाबी गरेका छैनन् । उनलाई जे मिथक भन्नेजस्तो लागेको छ, ती सामग्री प्रस्तुत गरेका छन् । ‘तर यो कृतिले मिथक अध्ययनका बारेमा बहस भने प्रारम्भ गर्नेछ,’ उनले भने ।

कूल ११२ (कभरसमेत) पृष्ठको यो पुस्तक मुन्नीकुमारी मिश्रले प्रकाशित गरेकी हुन् भने पुस्तकमा समेटिएका सामग्रीहरूको प्रतिनिधित्व हुने गरी कलाकार आकांक्षा झाले आवरण कला तयार गरेकी छिन् ।

यो पुस्तकको मूल्य ४०० रुपैयाँ रहेको छ ।

लेखक झा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हुन् । अहिले उनी राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष छन् ।

पत्रकारिताका प्रशिक्षकसमेत रहेका झाका पत्रकारितासम्बन्धी अनेकौं पुस्तक प्रकाशित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!