आमा गंगा विकको साथमा स्वास्थ्य समस्याले थलिएका बालक नारायण सुनार ।

दैलेख । नारायण नगरपालिका–२ कुसाडा गाउँका ८ वर्षीय बालक नारायण सुनार जो स्वास्थ्य समस्याका कारण तीन वर्षदेखि थलिएका छन् । हात खुट्टा सुन्निने र दुख्ने समस्याबाट ग्रसित छन् । उनी उभिन समेत सक्दैनन् । हात चल्दैन् । उनलाई तीन वर्षअघि निमोनियाले च्यापेको थियो । आर्थिक अभावकै कारण उपचारबाट बञ्चित हुँदा उनको स्वास्थ्य अवस्था झनै नाजुक बन्दै गएको छ ।

नारायणकी आमा २९ वर्षीया गंगा विकले अहिले छोराको उपचार खर्च जुटाइदिन हारगुहार गरिरहेकी छिन् । हिजोआजको दिनचर्या वडा कार्यालय, गैससका कार्यालय धाउनमै वित्ने गरेको छ। ‘सुरुमा दैलेख अस्पतालमा छोराको जाँच गराएको थिएँ, यहाँ उपचार गराउँदा निको नभएपछि ऋण सापट गरेर सुर्खेत पुर्‍याएँ,’ गंगाले भनिन् ।

सुर्खेतमा उपचार गराउँदा पनि निको नभएपछि नेपालगंजहुँदै काठमाडौंमा लिएर उपचार गरेको गंगाले बताइन् । छोराको स्वास्थ्य समस्या झनै बल्झिन थालेपछि गंगाले नारायणको उपचारका लागि भारतको अम्दबाज पुगिन् । ‘आफ्नो नाममा भएको सबै सम्पति समेत बेचेर धेरै अस्पताल पुर्‍याएर उपचार गरेँ, तर निको भएको छैन्, डाक्टरहरुले बाथ रोग हो भन्नुभएको छ,’ गंगाले भनिन् ‘अब एउटा घर मात्रै बचेको छ, आम्दानीको स्रोत केहि छैन्, छोराको उपचार कसरी गर्ने भन्ने चिन्ताले पिरोलेको छ ।’

छोरालाई औषधि किन्ने पैसा समेत नभएको गंगाले बताइन् । नारायण ३ वर्षको हुँदा बुवा टेकबहादुर सुनारको मृत्यु भएको थियो । उनी रोजगारीका लागि भारत गएका थिए । ‘घरमा ७० वर्षीया ससूरा हुनुहुन्छ, कमाउने कोही छैन्,’ जंगाले भनिन्, ‘माइतीको सहयोगमा बिहान साँझको छाक टारिरहेको छौं ।’गंगाले छोरोको उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!