
नेपालगञ्ज । बिहीबार रातिदेखि परेको अविरल वर्षाले बाँकेमा ११ वटा घर भत्किएका छन् । राप्तीसोनारी र डुडुवा गाउँपालिकाका ११ जनाको कच्ची घर भत्किएको हो। राप्ती नदीमा ठूलो बाढी नआए पनि डुडुवालगायत नालाको पानी गाउँमा पसेपछि ११ वटा घर भत्किएका छन्।
डुडुवाको कटान तीव्ररुपमा भएपछि केही घरपरिवार विस्थापित भएका छन् । बाँके प्रहरीका अनुसार डुडुवाका सुन्दर लोनिया, गणेश खटिक, लक्ष्मण चमार, आलामजहा, कन्टु कहार, नफिस खाँ, राप्तीसोनारी गाउँपालिकाका गोलु थारु, कोटी लुहारी, आशाराम थारु, सुमन दमाई, पार्वती वलीको कच्ची घर, गोठ भत्किएको छ।

डुडुवा खोलाले तीव्र कटान गरेपछि डुडुवा–१, कधैंपुरुवाका आधा दर्जन घर जोखिममा परेका छन् । बिहान १० बजेपछि खोलाले कटान थालेको सुन्दरले बताए। ‘आँगनअगाडि खोला बगिरहेको थियो। हेर्दाहेर्दै घरभित्रै खाइपुग्यो, सुन्दरले भने, हतार–हतारमा केही खाद्यान्न र सामान सार्न सक्यौं।’
दिउँसो एक बजे कधैंपुरुवाका तीर्थराम लोनियाका घरपरिवार सामान ओसार्दै थिए। गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी कधैपुरुवामा पुगेका थिए।
ठूलो मात्रामा परेको पानीले नेपालगञ्ज क्षेत्र जलमग्न भएको छ। मंगलप्रसाद स्कुल अगाडिको रोड, नजिकका घरमा पानी पसेको छ।