भाइरल रोड

पोखरा । हिमश्रृंखलाको अघिल्तिर ६ लेनको सडकको तस्वीर सामाजिक सञ्जालमा पछिल्लो समय भाइरल बनेको छ ।

यो सडक कहाँको हो भन्ने मात्र होइन, कसको पालामा बनेको भनेर राजनीतिकरण गर्ने प्रयास पनि भइरहेको छ ।

यो सडक निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको हो । मध्यपहाडी लोकमार्गको कास्की खण्डमा पर्ने याम्दीदेखि फेदी घट्टेखोलासम्म ६ लेनमा बनेको १२ किलोमिटर सडक रङरोगनसँगै आकर्षक देखिएको छ ।

यो सडकलाई कसैले बाबुराम भट्टराई त कसैले पुष्पकमल दाहाल प्रचण्ड र कसैले केपी शर्मा ओलीको पालामा बनेको भनेर दाबी गरेका छन् ।

राष्ट्रिय यातायात नीति २०५८ मा २० वर्ष अगाडि नै मध्यपहाडी लोकमार्गलाई राष्ट्रिय गौरवको योजनाको रुपमा परिकल्पना गरिएको हो । पहाडी जिल्लाहरुलाई जोड्दै नयाँ शहरको विकास गर्ने परिकल्पनासहित पूर्वपश्चिम महेन्द्र राजमार्गको वैकल्पिक सडकको रुपमा मध्यपहाडी लोकमार्गको योजना अगाडि बढाइएको थियो । पाँचथरको चियोभञ्ज्याङ भन्ने ठाउँबाटदेखि पश्चिम बैतडीको झुलाघाटसम्म १ हजार ८ सय ७९ किलोमिटर लामो हुने भनिएको छ ।

पुरानै योजनाअनुसार सडक विभागले नियमित काम गरिरहेको लमजुङदेखि बागलुङसम्मको खण्ड हेर्ने डिभिजन इन्जिनियर नारायणदत्त भण्डारी जानकारी दिए । उनका अनुसार याम्दी–फेदी खण्डको १२ किलोमिटर सडक ६ लेनको भएपनि अन्य ठाउँमा डबल लेनको हुने भण्डारीले जानकारी दिए ।

मध्यपहाडी लोकमार्गको लमजुङ–बागलुङ खण्ड २४० किलोमिटर छ । त्यसको ८० प्रतिशत काम सकिएको छ । ‘कास्की खण्डको ३० किलोमिटर सडक विवादका कारण ठेक्कामै गएको छैन । लमजुङ–बागलुङसम्म अझै ६० किलोमिटर पिच हुन बाँकी नै छ,’ भण्डारीले भने, ‘याम्दी–फेदी सडक भने निर्माण नसकिँदै भाइरल बन्यो । यो निकै आकर्षक पनि देखिएको छ ।’

सडकको अझै रङरोगनको काम बाँकी नै छ । फुटपाथ मिलाउने, रेलिङको काम अझै बाँकी नै छ । लमजुङदेखि बागलुङसम्मको सडक खण्डको निर्माण शुरुआत २०७३ सालमा भए पनि याम्दी–फेदी सडकको निर्माण सम्झौता २०७४ मा भएको डिभिजन इन्जिनियर भण्डारीले जानकारी दिए ।

याम्दीदेखि ६ किलोमिटर शर्मा एण्ड कम्पनी र बाँकी ६ किलोमिटर स्वच्छन्द–इलाइट जोइन्ट भेन्चरले ठेक्का पाएको थियो ।

साढे ८७ करोड रुपैयाँमा ठेक्का पाएको कम्पनिले २०७७ चैत भित्रै सक्नुपर्ने भए पनि कोभिड र विद्युतका पोलहरु सार्नुपर्ने भएका कारण अबको चैतसम्मका लागि म्याद थपिएको आयोजनाले जनाएको छ ।

कास्की खण्डको रुपा भगवतीटारदेखि याम्दीसम्म अझै रुट विवाद भएका कारण ठेक्का लाग्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!