गोरखा । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक सडक’ अन्तर्गत जिल्लाका चार सडक स्तरोन्नति तथा कालोपत्रको काम सुरु भएको छ । यीमध्ये केही सडकको मात्र काम सन्तोषजनक छ । करोडौंको लागतमा ठेक्का लागेका केही सडक भने सम्झौता अवधिमा स्तरोन्नति नसकिने निश्चित छ ।
निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ अन्तर्गतको ढुंगागढे बुंकोट नाम्जुङ १२ किमि सडक २०७६ कात्तिकमा दुई वर्षभित्र कालोपत्र गर्ने सम्झौताअनुसार लामा कन्स्ट्रक्सनले जिम्मा लिएको हो । ३२ करोड ९१ लाख रुपैयाँमा ठेक्का लागेको सडकको ८० प्रतिशत काम सकिएको पूर्वाधार विकास कार्यालय गोरखाका इन्जिनियर गणेश सुवेदीले बताए ।
‘चार किमि कालोपत्र सकिएको छ, बाँकीमा बेस राखेर कालोपत्रका लागि तयारी अवस्थामा छ,’ उनले भने । निर्वाचन क्षेत्र नम्वर १ को ‘ख’ अन्तर्गतको बारपाक–लाप्राक सडकको भने २० प्रतिशतमात्र काम सकिएको छ । २०७७ जेठमा २ वर्षभित्र काम सक्ने गरी १३ किमि ग्राभेल गर्ने जिम्मा पाएको एमएस शर्मा/बीबीई जेभीले यसका लागि ३४ करोड १५ लाखको ठेक्का सकारेको थियो । बारपाक सडक खण्डअन्तर्गत बालुवाको पक्की पुलसँगैको पहुँचमार्ग बाढीको कटानपछि सडक अवरुद्धले निर्माण सामग्री ढुवानी नहुँदा काम रोकिएको सुवेदीले बताए ।
निर्वाचन क्षेत्र २ को ‘क’ अन्तर्गतको राधाकृष्ण मन्दिर कालमाटा विरुवाटार सलांगिरी हटिया सडकको पनि प्रगति निराशाजनक अर्थात् ३५ प्रतिशतमात्र छ । २०७६ असारमा ठेक्का सम्झौता गरी काम सुरु भएको सडकको १० किमि कालोपत्रका लागि २३ करोड ३८ लाखको लागतमा अमर कन्स्ट्रक्सनले जिम्मा पाएको थियो । निर्माण सामग्रीको अभाव देखाएर बीचमा ठेकेदारले काम रोक्दा ढिलाइ भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
सम्झौताअनुसार २ वर्षमा काम सक्नुपर्ने थियो । हाल २ किमि ग्राभेल र ६ किमि नाला निर्माण मात्र भएको छ । ठेकेदारले म्याद थपका लागि निवेदन दिएपछि अहिले प्रक्रियामा छ । निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ अन्तर्गत अजिरकोट गाउँपालिकाको ढोडेनी–सिम्जुङ–गगनपानी–मल्ले सडक १४ किमि ग्राभेलको काम भइरहेको छ । २०७६ कात्तिकमा दुई वर्षभित्र स्तरोन्नति गर्ने गरी निर्माणको जिम्मा लिएको बिरुवा/नाना गोरखाले हालसम्म ६० प्रतिशत काम सकेको छ । २३ करोड ५१ लाखको लागतमा ठेक्का लागेको हो ।
प्रदेश सरकारले ठेक्का लगाएको नारेश्वर–पँडेनी–चौतारा निवेल सडकको पनि ३५ प्रतिशतमात्र काम सकिएको छ । २०७६ फागुन १४ मा २ वर्ष १० दशमलव ८ किलोमिटर स्तरोन्नति गर्ने लक्ष्यका साथ ठेक्का लागेको थियो । २५ करोड ६३ लाखमा ठेक्का लागेको सडकको स्ट्रक्चर र ५ किमि नाला निर्माणको काम सम्पन्न भएको छ ।