इटहरी । प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ बस्ने ४२ वर्षीय सञ्जीव साह रहेका छन् ।
प्रहरीका अनुसार गत भदौ २६ गते रामधुनी नगरपालिका ५ बाट चेकजाँचको क्रममा को १ ज ८८५० नम्बरको म्याजिक गाडीमा बिलबिजक नभएको ५० केजीका दरले १६ बोह्रा चिनी (८ सय केजी) सहित विक्रम साहलाई पक्राउ गरेको थियो । पक्राउ परेका चालकसहित गाडी र चिनी आवश्यक कारबाहीको लगि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेज पठाइएको थियो ।
प्रहरीका अनुसार भन्सार कार्यालयमा विक्रमले ९९ हजार रुपैँया धरौटी र बिगो राखेर भन्सारबाट छुटेका थिए । तर, सञ्जीव साहले भने प्रहरी र भन्सार कार्यालयमा सेटिङमा छुटाइ दिन्छु भन्दै गाडी धनी विक्रमसँग तीन लाख ९५ हजार र धरौटी बापतको ९९ हजार लिएको खुलेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सो रकममध्ये ८७ हजार पाँच सय रुपैँया विक्रमलाई फिर्ता गरेको र बाँकी एक लाख ६० हजार रुपैँया छुटाउन खर्च भएको भन्दै ठगी गरेका थिए ।
‘प्रहरी र भन्सारमा खर्च गरेको बाँकी रकम खाजा खर्च भएको भनेर गाडी धनीलाई ठगी गरेको भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरी ठगी सम्बन्धि कसुरमा मुद्दा चलाइएको छ,’ सुनसरी प्रहरीद्दारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।’