शेरधन राई
पत्रकार भेटघाटमा आफ्ना कुरा राख्दै प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राई।

विराटनगर । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले आफूले पूरै जीवन जनता र राष्ट्रप्रति समर्पित गरेको बताएका छन्।मुख्यमन्त्री त्याग गरेको भोलिपल्ट शुक्रबार प्रदेश राजधानी विराटनगरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै राईले कलिलै उमेरदेखि राजनीतिमा होमिएर सिंगो जिन्दगी नै जनता र मुलुकका लागि समर्पित गरेको बताए।

‘म एउटा राजनीतिकर्मी र निर्वाचित जनप्रतिनिधि हुँ। मैले जनता र मुलुकप्रति कुनै घात गरेको छैन’, उनले भने, ‘बदमासी, गल्ती र त्रुटि हुन खोज्दा रोकें। त्यही भएर आज म जनताका अगाडि शिर ठाडो पारेर हिँड्न सक्छु ।’ प्रदेशको संस्थापक मुख्यमन्त्री राईले ३ वर्ष ६ महिना ७ दिन प्रदेश सरकारको नेतृत्व गरे।

२०७४ साल फागुन २ गते मुख्यमन्त्री नियुक्त भएका उनले बिहीबार मुख्यमन्त्री र एमाले प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएर एमाले सचिव एवं पार्टीका प्रदेश इन्चार्ज भीम आचार्यलाई बाटो खुला गरिदिए। प्रदेशको दलको नेता र मुख्यमन्त्री बिहीबार नै नियुक्त भएका आचार्यले पदभार ग्रहण गरिसकेका छन्। राईले भने त्याग गर्ने एउटा गतिलो अवसरका रूपमा यसलाई आफूले उपयोग गरेको बताए।

राई कलिलै उमेरदेखि राजनीतिमा लागेर चाँडै उचाई प्राप्त गर्ने नेताका रूपमा राई चिनिन्छन्। २०५६ सालको आमनिर्वाचनमा उनी पहिलो पटक भोजपुरबाट निर्वाचिन बनेका थिए। २०५६ सालको प्रतिनिधिसभाका उनी कान्छो सदस्य पनि हुन्। उनी त्यतिबेला २७ वर्षका मात्रै थिए।

२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि उनी निर्वाचित भए। सरकारको सूचना तथा सञ्चार मन्त्री बने।प्रदेशसभा निर्वाचनमा भोजपुर ‘ख’बाट निर्वाचित भएर उनले प्रदेशको पहिलो मुख्यमन्त्री बन्ने अवसर प्राप्त गरे।

जनतासँग गरेका प्रतिबद्धताका आधारमा क्रियाशील भएर आफ्नो कार्यकालमा संघीयतालाई संस्थागत गर्न र संविधान कार्यान्वायनका लागि योगदान गरेको राईको भनाइ छ। मुलुकमा विकसित राजनीतिक परिस्थितिले ५ बर्से कार्यकाल पूरा नहुँदै पद त्याग गरे पनि प्रदेश सञ्चालनका लागि समग्र योजना बनाउन आफ्नो भूमिका महत्वपूर्ण रहेको दाबी राईको छ।

मुलुकमा वामे सर्दै गरेको संघीयतालाई राजनैतिक विग्रह, विभाजन र टुटफुटले असर नगरोस् भनेर आफू त्याग गर्न तयार भएको उनको कथन थियो। आफ्नो त्यागले एमालेमा एकता र स्थायीत्व कायम हुने तथा एमाले नेतृत्वकै सरकारले निरन्तरता पाइरहने राईको विश्वास छ। उनले पार्टीलाई सुदृढ बनाउँदै मुलुक र जनताको हितमा लाग्न सबैमा अपिल गरे।भने, ‘टुटफुटले कसैलाई हित गर्दैन। लोकतन्त्र र संविधानको रक्षामा लाग्नुपर्ने बेला विभाजनको अवस्था आउनु दुर्भाग्यपूर्ण हो।पार्टीमा गोलबद्ध हुँदै देश र जनताको हितलाई शीरमा राखेर अघि बढ्न सबैमा आह्वान गर्छु ।’

‘प्रदेशमा शून्य विन्दुबाट सरकारको नेतृत्व गर्नु पर्दा पहिलो वर्ष संरचनामा निर्माणमै सकियो।दोस्रो वर्ष कानुन निर्माण गर्यौँ,’ राईले भने, ‘तेस्रो वर्षबाट तीव्र गतिमा काम अघि बढाउने योजनालाई कोरोना महामारीले छेकिदियो। तर पनि हामी नरोकिएकाले प्रदेशले सफलता प्राप्त गयो ।’

आवधिक योजना तय गर्दै प्रदेशको समग्र विकास र समृद्धिमा आफू नेतृत्वको सरकार केन्द्रित भएको उनको जिकिर छ।‘सरकारको नेतृत्व गर्दा कसैप्रति
विभेद नगरिकन सन्तुलित रूपमा अघि बढियो। भूगोल, दल, गुट र पक्षधरता हेरिएन’, राई भन्छन्, ‘प्रदेश सरकारले विकास निर्माणमा फड्को मारेको छ। ८६ वटा ग्रामीण सडकको काम भइरहेको छ ।’ उनले प्रदेशमा अहिले ६२ वटा बहुबर्से सडक योजनाको निर्माण चलिरहेको र तीनवटाको काम सकिएको जानकारी दिए।त्यस्तै आधा दर्जन पुल बनेको उनले बताए।

गौरवका सडक आयोजना, सिँचाईं, खानेपानी, स्वास्थ्य र शिक्षाका क्षेत्रमा धेरै काम भएको राईले बताए।‘अहिले भइरहेका विकास निर्माणका कामले निरन्तरता पाएर पूरा भइसकेपछि प्रदेशले बेग्लै उचाई प्राप्त गर्ने छ’, राईले भने, ‘रुपान्तकारी परिपरियोजनालाई सूचिकृत गर्न सफल भइयो ।’

आफ्नो आकांक्षा र जनताले चाहेजति गर्न नसके पनि सरकारमा बसेर गलत नगरेको उनले बताए। पार्टीभित्रको आन्तरिक विवादबीच आफू नेतृत्वको सरकारको कार्यकाल सन्तोषजनक रहेको राईको दाबी छ।तर प्रदेशको राजधानी तोक्नसके पनि आफू मुख्यमन्त्री हुँदा नामाकरणको विषय टुंगोमा नपुर्‍याएको भनेर विपक्षीले उनको आलोचना गर्ने गरेका छन्।

‘संविधानले नै नदिएकाले नामको विषय मुख्यमन्त्रीले मात्रै चाहेर पनि हुने हैन। नाम र राजधानी एकै पटक टुंगो लगाउने मेरो योजना थियो’, राईले भने, ‘तर सबै दलको सहमतीमा राजधानी तोकेर नामको विषय थाती राखियो। नामको टुंगो लगाउन नसक्दा मलाई अफसोच छ ।’ मन्त्रिपरिषद्बाट निर्णय गरेर हुने भए प्रदेशले पहिलो वर्ष नै नाम पाइसक्ने राईको कथन छ।आफू वहाल हुँदा प्रदेशले नाम नपाए पनि सबै पक्षसँग छलफल गरेर संसदको विशेष अधिवेशनमार्फत छिट्टै टुंगोमा पुगिने उनले बताए।

राईले आकांक्षा अनुसारको रफ्तारमा काम गर्न भने नसकिएको स्वीकार गरे।‘नीतिगत रूपमा केही कमजोरी भएकाले बेरुजुलाई शून्य बनाउन सकिएन,’ उनले भने, ‘तर पनि भइरहेका अनियमितता रोकेर प्रदेशलाई एउटा ट्रयाकमा ल्याउने काम भएको छ ।’ तत्काल आवश्यक पर्ने कानुन निर्माण गरेर लागू गर्न नसक्दा धेरै जटिलता र अप्ठेराहरु झेल्नु परेको राईको भनाइ छ। -सभार : अन्नपूर्ण पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!