मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ । मधेश प्रदेश अन्र्तगत सबैभन्दा लामो पदयात्रा सुरु भएको छ । नेपालको यस प्रकारको पदयात्रा एकमात्र मिथिला माध्यमिकी परिक्रमा रहेको छ । मधेशको महाकुम्भ मानिएको १५ दिने माध्यमिकी परिक्रमा जनकपुरधाम पुगेसँगै होली मनाउने गरिन्छ ।
फागुन कृष्णपक्षको औंसीमा धनुषाको मिथिला बिहारी नगरपालिका–८ कचुरीस्थित मठबाट भगवान राम र जानकीको डोला सहित परिक्रमा हुने परम्परा रहेको छ । परापूर्वकालदेखि चलिआएको मधेशको धार्मिक पदयात्रामा लाखौँको सँख्यामा दर्शनार्थी श्रद्धालुहरु सहभागी हुन्छन् । धनुषाको हुनमानगढीमा विश्राम गरी परिक्रमा सहभागी साधुसन्त तथा श्रद्धालुहरु शुक्रबार बिहान पूजापाठ गरी भारत बिहारको कल्याणेश्वर प्रस्थान गर्नेछन् ।
फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला बिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकीमन्दिर भएर जनकपुरको हनुमानगढी पुगेपछि माध्यमिकी परिक्रमाको विधिवतरुपमा शुरुवात हुने परम्परा रहेको छ । श्रद्धालु भक्तजनहरुले नेपाली भू–भागको ९० किलोमिटर र भारतको ३० किलोमिटर दुरी परिक्रमा गर्ने परम्परा छ ।
नेपालभारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ दिन विश्रामस्थल रहेको छ । सोहीक्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, धु्रवकुण्ड हुंदै परिक्रमा महोत्तरीको कञ्चनवन पुग्छन् ।
कञ्चनवनमा अग्निकुण्डाको आयोजनमा परिक्रमामा सहभागीहरुले एक आपसमा होली खेलेपछि औपचारिक रुपमा होलीको सुरुवात भएको मानिन्छ । त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौलहुँदै पुनः कल्याणेश्वरबाट जनकपुर फर्केर विश्राम गर्छन् ।
फागुन पुणिर्माका दिन परिक्रमावासीहरु जनकपुरको परिक्रमा अर्थात अन्तगृही परिक्रमा पुरा गरी घर र्फकने गर्छन् ।
परिक्रमाको धार्मिक लस्करमा नेपाल भारत सहितका लाखौँ श्रद्धालुको सहभागिता रहेको गरेकोले मिथिलाको महाकुम्भ भनेर प्रसिद्ध छ ।