किसानको माग पूरा नभएको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले सरकार विरुद्ध प्रदर्शन गर्नुका साथै निर्वाचन कार्यालय घेराउ गरेको छ । मंगलबार जनकपुरधाममा जनमत पार्टी धनुषाका नेता तथा कार्यकर्ताहरूले संघीय तथा प्रदेश सरकार र स्थानीय तहका विरुद्ध विरोधमा प्रदर्शनसहित प्रदेश निर्वाचन कार्यालय घेराउ गरेका हुन् ।
किसानहरूको समस्यालाई सम्बोधन गर्न विभिन्न ११ बुँदे मागसहित विगत करिब दुई महिनादेखि आन्दोलनरत जनमत पार्टीका कार्यकर्ताहरूले निकालेको विरोध र्याली नगरको विभिन्न क्षेत्रको परिक्रमा गर्दै प्रदेश निर्वाचन कार्यालय घेराउ गरेका थिए ।


जनमत पार्टी धनुषा जिल्ला संयोजक ओमविक्रम कुशवाहाको नेतृत्वमा भएको विरोध प्रदर्शन तथा घेराउ कार्यक्रममा बोल्दै उनले किसानका माग पूरा नभए निर्वाचनमा अवरोध गर्ने चेतावनी दिए । उनले आफूहरूले किसानका मुद्दा सम्बोधन नभए स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने उनले चेतावनी दिएका छन् ।




