सिरहा । जिल्ला सदरमुकाम सिरहाको अवस्था कस्तो हुनुपर्छ ? सदरमुकाम भएकोले मुख्य सडक, पार्क, सडकवत्ती, पैदलयात्री लेन, अपाङतामैत्री सडक, स्वच्छ ढल निकास प्रणाली आदी इत्यादी ।
स्थानीय तहको निर्वाचन २०७४ मा सम्पन्न भएको पाँचौं वर्ष वित्दैछ । सरकारले स्थानीय तहको अर्को निर्वाचन अगामी वैशाख ३० मा गर्ने निर्णय गरिसकेको छ । मुख्य चासोको विषय सिरहा सदरमुकामको २ किलोमीटर सडकको रहेको छ ।
ट्राफिक चौकदेखि सुरु हुने मुख्य सडक रामजानकी चौकसम्म (करिब २ किलोमीटर) को अवस्था कस्तो छ ? सदरमुकाम आउने जोकोहीलाई सोध्दा मुख्य सडक अवस्था देखेर चिन्तित र निराशा प्रकट गर्छन् ।

मुख्य सडकको महावीर चौक देखि ट्राफिक चौकसम्म खाल्डाखुल्डी र जोखिमपूर्ण रहेको छ । ढल निकासीको निम्ति बनाईएको नालामा ढक्कन छैन् । महावीर चौक, हटिया गेट, जिल्ला अदालत नजिक, हेमनारयाण चौक, क्याम्पस गेट, जिल्ला प्रशासन गेट, जिल्ला प्रहरी गेट, ट्राफिक चौकसम्म सडकमा सानादेखि ठूला खाल्डाखुल्डी रहेको छ । सडकमा खाल्डाखुल्डी भएकोले जोखिम पनि बढेको छ । दुर्घटनाको जोखिम उच्च छ । तैपनि सरोकारवाला निकायले मौनता प्रकट गरेको छ ।
माडर–सदरमुकाम सिरहा–चोहर्वा सडकखण्ड सडक डिभिजन कार्यालय लहानको क्षेत्राधिकारभित्र पर्छ । सहायक राजमार्ग भएकोले पनि यसको मर्मत र स्तोरोन्नतीको काम सडक डिभिजन कार्यालय अन्र्तगत रहेको छ । सदरमुकाम सिरहाको खाल्डाखुल्डी सडकवारेमा सडक डिभिजन कार्यालय लहानका प्रमुख रामकुमार देवलाई प्रश्न राख्दा कालोपत्रे मर्मतको लागि टेण्डर आह्वान भई सम्झौताको क्रममा रहेको जवाफ फर्काएका छन् । आवश्यकता अनुसार ठाउँठाउँमा मर्मत गरिने डिभिजन प्रमुख देवको भनाई छ । वर्षौदेखि सदरमुकाम सिरहाको मुख्य सडकको अवस्था दयनीय हुँदा पनि डिभिजन कार्यालय निर्माण व्यवसायी कुर्दै छन् ।
सदरमुकामको सौन्दर्यताको निम्ति पनि सडकको अवस्था दुरुस्त र सफासुग्घर हुनु जरुरी रहेको छ । सदरमुकाम सिरहाको मुख्य सडकको अवस्था दयनीय र खाल्डाखुल्डी भए सम्बन्धमा सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई प्रश्न गर्दा नगरपालिकाको क्षेत्राधिकार भित्र नपरेको जवाफ दिएका छन् । ‘यो सडक सिरहा नगरपालिका अन्तर्गत छैन् ।
सडक मर्मत गर्न सडक डिभिजन कार्यालय लहानमा पत्राचार गरेको छु’ प्रमुख प्रशाकीयक अधिकृत यादवले भने, ‘डिभिजन कार्यालयले मर्मतमा गर्न खासै चासो देखाएको छैन ।’
सडक डिभिजन कार्यालय निर्माण व्यवसायी कुर्दैछन् भने सिरहा नगरपालिका आफ्नो क्षेत्राधिकारभित्रको सडक नभएर पन्छिैदैछ । जोखिममा सदरमुकामम सिरहा आउने नागरिक रहेको छ ।
सिरहामा कुनै भिआईपी सवारी हुँदा रातारात मर्मत हुने मुख्य सडकको मर्मत र स्तोरोन्नती गर्ने सडक डिभिजन कार्यालय र सडक डिभिजन कार्यालय पन्छिनु नागरिकप्रति ज्यादती रहेको स्थानीय नविन कुमार यादवको भनाई छ ।
मुख्य सडकको अवस्थालाई लिएर कसैले चासो नराख्दा सरोकारवाला निकायले वास्ता नगरेको स्थानीय युवा दीपेन्द्र यादवले बताए ।
गाउँबाट सिरहा सदरमुकाम आउनेलाई सदरमुकाम हो कि होइन भन्ने फरक छुट्टयाउन गाह्रो पर्ने यादवको भनाई छ ।
सदरमुकामको मुख्य सडक खाल्डाखुल्डी हुँदा पनि स्थानीय प्रशासनलाई कुनै वास्ता छैन् ।
प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरुको बाक्लो उपस्थिती रह्ने सदरमुकाममा मुख्य सडकको अवस्था दुरुस्त र सुन्दर बनाउन कसैले वास्ता नगरेको अधिकारकर्मी संजय महराको आरोप छ ।



