जनकपुर । पछिल्लो समय कोभिड–१९ समुदायस्तरमा तीव्र गतिमा फैलिएपछि जनकपुरमा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइएको छ। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना विशेष अस्पताल सञ्चालन गरेको हो ।
कोरोना विशेष अस्पतालमा एक सय शय्या रहेको छ । अस्पताल सञ्चालनमा ल्याएको प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहले २० भेन्टिलेटर र २० शय्याको आइसीयू शय्या रहेको जानकारी दिए।
अस्पतालमा अहिले पनि बिरामीले उपचार गराइरहेका छन्। अस्पतालमा दैनिक ५० सिलिण्डरसम्म भर्न सक्ने क्षमताको अक्सिजन प्लान्टसमेत जडान गरिएको उनले बताए।
प्रदेश सरकारबाट वार्षिक १० करोड रुपैयाँ अनुदानमा सञ्चालित सो प्रतिष्ठानले अघिल्लो कोरोनाकालमा पनि कोभिड अस्पताल सञ्चालन गरेको थियो ।