सिरहा । स्थानीय निर्वाचनको तयारी गरिरहँदा सिरहा जिल्लामा एक महिनाको अवधिमा उल्लेख्य मात्रमा नयाँ मतदाता थपिएका छन् ।
निर्वाचन कार्यालय सिरहाले सञ्चालन गरेको मतदाता नामावली दर्ता अभियान कार्यक्रममा सिरहा जिल्लामा २९ हजार २ सय ७८ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय सिरहाले मंसिर १७ देखि पुस १८ गतेसम्म १७ वटै स्थानीय तहहरुमा दुई चरणमा नामावली संलकन अभियान सुरु गरेपछि २२ हजार ८ सय ३६ जना र कार्यालयबाट ६ हजार ४ सय ४२ जना गरी २९ हजार २ सय ७८ जना मतदाता थपिएका छन् ।
पहिलो चरण अन्तर्गत सिरहा जिल्लाको नरहा गाउँपालिका, नवराजपुर गाउँपालिका, औरही गाँपालिका, गोलजबजार नगरपालिका, मिर्चैया नगरपालिका, धनगढीमाई नगरपालिका, कल्यानपुर नगरपालिका र कर्जन्हा नगरपालिकामा अभियान संचालन गरी ११ हजार ११ जनाको नामावली संकलन गरिएको थियो । यस्तै दोस्रो चरण अन्तर्गत सिरहाको अर्नमा गाउँपालिका, भगवानपुर गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, बरियारपट्टी गाउँपालिका, विष्णुपुर गाउँपालिका, लक्ष्मीपुरपतारी गाउँपालिका, लहान नगरपालिका, सुखिपुर नगरपालिका, कल्यानपुर नगरपालिकामा अभियान संचालन गरी ११ हजार ८ सय २५ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय सिरहाका निर्वाचन अधिकारी इन्दिरा यादवले बताएकी छिन् । जसमध्ये सिरहा जिल्ला बाहिरका ६ जनाले सिरहाबाट नामावली दर्ता गराएका छन ।
निर्वाचन अधिकारी यादवले हालसम्म २ लाख १७ हजार ४ सय २१ पुरुष, १ लाख ९ हजार ५ सय ४ जना महिला र ३ जना तेस्रोलिङ्गि गरी ४ लाख ६ हजार ९ सय ७२ जना मतदाता नामावलीमा समावेश भएको बताएकी छिन् ।
२०७४ सालको निर्वाचनको क्रममा सिरहा जिल्लामा ३ लाख ३२ हजार ८ सय ९४ जना मतदाता थिए । २०७४ को निर्वाचन पछि पनि निरन्तर मतदाता नामावली संकलन हुँदै आएपनि निर्वाचन कार्यालयले १ महिनाको विशेष अभियान चलाएको थियो । जिल्ला निर्वाचन कार्यालय सिरहा र जिल्ला प्रशासन कार्यालय सिरहाबाट अझै मतदाता नामावली संकलन कार्य भईरहेको प्रमुख यादवले बताइन् ।