सर्लाही । पालिकाले समयमै विवरण नपठाउँदा सर्लाहीमा तीन दिन ढिला गरी बुधबारदेखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्लाहीसहित ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई आइतबारदेखि खोप दिने तयारी गरेको थियो । तर, सर्लाहीका पालिकाहरूले विवरण पठाउन ढिलाइ गरेका थिए । विवरण पाएपछि प्रदेशबाट खोप मगाएर जिल्लाका २० वटै पालिकाको स्वास्थ्य केन्द्रमा पुर्‍याइसकिएको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका खोप अधिकृत रामदुलार यादवले बताए ।

उनका अनुसार १ लाख ६ हजार ८ सय खोप पालिकाको स्वास्थ्य शाखाको जिम्मा लगाइसकिएको छ । उनले विद्यालयहरूसहित स्वास्थ्य संस्थामा पनि बालबालिकालाई खोप लगाउन सकिने जानकारी दिए । जिल्लामा बालबालिकाको विवरण नहुँदा कति खोप मगाउने भन्नेबारेमा जिल्ला स्वास्थ्य कार्यालय अन्योलमा परेको थियो । स्वास्थ्य मन्त्रालयले गत आइतबारदेखि पुस १४ गतेसम्म सर्लाहीसहितका जिल्लामा बालबालिकालाई मोडर्ना खोप लगाइसकिने लक्ष्य राखेको थियो ।

कविलासी नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सञ्जय झाले एक सय बालबालिका जहाँ जम्मा भए त्यहीँ खोप कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । उनले बालबालिका सँगसँगै स्वास्थ्य संस्थाबाट अन्यलाई पनि कोभिडविरुद्धको खोप जारी रहने बताए । स्वास्थ्य संयोजक झाले बालबालिकाले खोप पाएपछि सरकारले घोषणा गरेको उमेर समूहको पूर्ण खोप घोषणा गर्ने तयारी पालिकाको रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!