सिरहा । स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र बनाएको छ । अनुगमन टोलीले सिरहा र सप्तरीको विभिन्न स्थानमा म्याद गुज्रेका सामान बिक्री गर्ने व्यापारीलाई कारबाहीको दायरामा ल्याएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा भएको बजार अनुगमनको क्रममा विभिन्न पसलबाट करिब डेढ लाख मूल्य बराबरको म्याद गुज्रेका र गुणस्तरहीन सामान बरामद गरी नष्ट गरेको छ । अनुगमन टोलीले राजविराज नगरपालिका ७ स्थित आरयुपी जनरल स्टोरलाई १० हजार जरिवाना गरेको कार्यालय प्रमुख सुरेश कुमार सिंहले जानकारी दिएका छन् ।
यस्तै अनुगमन टोलीले सिरहाका विभिन्न पसलबाट ६० हजार र सप्तरीको विभिन्न पसलबाट ९५ हजारको म्याद गुज्रेका सामान बरामद गरी नष्ट गरेको प्रमुख सिंहले जनाएका छन् । सिरहा सदरमुकामस्थित प्रदीप हट कोल्ड एण्ड जनरल स्टोर, श्रवण इन्टरप्राइजेज, रवि जनरल स्टोर तथा सप्तरीको राजविराजस्थित सियाराम किराना पसल, अल इमरान जनरल स्टोर, आनन्द किराना पसल, सगरमाथा होटल, महुली होटल, सप्तरीको कञ्चनरुप नगरपालिका ८ को निखिल किराना स्टोर, महेन्द्र किराना पसल, दुखन किराना पसल तथा प्रमोद पान पसलबाट म्याद गुज्रेका सामान बरामद गरी नष्ट गरेको कार्यालयले जनाएको छ ।
यस्तै पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद नाघेका खाद्य वस्तुलाई नष्ट गर्ने गरी सचेत गराइएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिएका छन् । सिरहा सप्तरी जिल्लामा म्याद गुज्रेका समानसँगै व्यापक रुपमा कालोबजारी पनि भईरहेको छ । मूल्यसूची पसलमा नराखेर उपभोक्तालाई ठगी भईरहेको छ । त्यसलाई नियमन गर्न स्थानीय तह मातहतको बजार अनुमगन टोली सक्रिय हुनुपर्ने कार्यालय प्रमुख सिंहको भनाई छ ।




