महोत्तरीमृत फेला

जलेश्वर । देवी दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएका एक युवकको शव आइतबार बिहान फेला पारिएको छ।
महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित भार्गवसर पोखरीमा देवी दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा शनिबार साँझ जलेश्वर नगरपालिका–२ का १८ वर्षीय सुमितकुमार साहको डुबेर मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार दुर्गा भवानीको मूर्ति विसर्जन गर्ने क्रममा शनिबार साँझ डुबेर मृत्यु भएका साहको शव आज बिहान ११ बजे फेला पारिएको हो। जलेश्वरको दुर्गाचोकमा अवस्थित दुर्गापूजाको मूर्ति प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट विसर्जन गर्ने परम्परा छ। सोही परम्पराअनुसार शनिबार साँझ मूर्ति विसर्जन गर्ने क्रममा साहको भार्गवसर पोखरीमा डुबेर मृत्यु भएको थियो।

मूर्ति विसर्जन गर्ने बेलामा पानीभित्र गरुङ्गाे मूर्तिले चेपिन जाँदा उनको डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । युवक साह मूर्ति विसर्जन भइसकेर अबेर राति घर नआएपछि परिवारजनले खोजतलास गर्न थालेको र आज बिहान मूर्ति सेलाउन गएको पोखरीमा डुबेको हुनसक्ने आशङ्का गर्दै नेपाल प्रहरीसहितको टोलीले सोही पोखरीमा खोज्न जाँदा युवक साह पोखरीभित्र हिलोमा गडेको अवस्थामा फेला परेको उपरीक्षक विष्टले बताए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!