
सिरहा । नेपालीहरुको सवैभन्दा ठूलो पर्व दशैँ र तिहारलाई लक्षित गरी ट्राफिक प्रहरी कार्यालय सिरहाले यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
जिल्ला ट्राफिक कार्यालय सिरहाले सोमवार सदरमुकाम स्थित ट्राफिक प्रहरी कार्यालयको अगाडी यात्रु सहायता कक्ष स्थापना गरेको हो । दशैँ, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावना लगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय सिरहाका इन्चार्ज सइ राम कुमार यादवले बताएका छन् ।
‘विजयादशमी, दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै यात्रु सहायता कक्ष स्थापना गरिएको हो,’ इन्चार्ज यादवले भने, ‘भाडामा यात्रु ठगिने, सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु राख्ने जस्ता कार्य निरुत्साहित गर्न र यात्रुलाई समस्या परेका खण्डमा सहायता गर्न यात्रु सहायता कक्षले सहयोग गर्नेछ ।’
उनका अनुसार आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता कुराहरू यात्रुहरूले सहायता कक्षमा सोध्न सक्नेछन् ।